गोरखा। स्थानीयको धेरै मिहिनेत र सक्रियतामा गोरखाकै जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ को नयाँ भबन निर्माण भएको छ । १८ वर्षदेखि लगातार बन्द रहेको गोरखा नगरपालिका ६ तीनधारे स्थित पुस्तकालय भबन जिर्ण भएपछि स्थानीयको सक्रियतामा नयाँ निर्माण गरिएको हो ।
२००८ सालमा स्थापना भएको सो पुस्तकालय पटक पटक बन्द हुँदै खुल्दै आएको थियो । तत्कालिन समयमा मनकामना केबलकारका सञ्चालक लक्ष्मण बाबु श्रेष्ठ सहित प्रेमकुमार श्रेष्ठ, चुडानारायण किसुनबाबु श्रेष्ठ, बाबुराम श्रेष्ठ लगायतको समुहले पुस्तकालय स्थापना गरेका थिए । २०७२ सालको भूकम्पका कारण पुस्तकालय भवन भत्किएको थियो । 
स्थानीय मोहनलाल श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर तीनवर्ष अघिदेखि पुस्तकालय भबन थालिएको थियो । करिब ४८ लाख रुपैयाँको लागतमा निर्माण भएको भबनको मंगलवार गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले उद्घाटन गरेका हुन्।
निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले भबन नयाँ बनेपनि त्यहाँ भित्र राख्ने पुस्तक अभाव रहेको बताउनुभयो । नगरप्रमुख राना मगरले पुस्तकालय सञ्चालन गर्न आवस्यक सहयोग गर्ने बताए । उपप्रमुख मसलीमाया थोकरले पुस्तकालयले ज्ञानको स्तर बढाउन मद्धत पुग्ने भएकाले अहिलेको पुस्तालाई पुस्तकालय सम्म जाने र अध्ययन गर्ने थलोको रुपमा लैजानुपर्ने बताइन ।
पूर्व नगर प्रमुख राजनराज पन्तले त्रिभुवन पुस्तकालय गोरखाको एउटा महत्वपूर्ण इतिहास भएकाले यसको संरक्षण गर्न नगरपालिकाले अग्रसरता देखाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, दाताहरु राजेशबाबु श्रेष्ठ, अशोकबाबु श्रेष्ठ, द्रब्यशाह बहुमुखि क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, पुस्तकालय भबन निर्माणका समन्वयकर्ता डाक्टर राजुबाबु श्रेष्ठ, निर्माण समितिका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।



