गोरखा। गोरखाको कालिका मन्दिरमा रहेको दशै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशै घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । परम्परा अनुसार बिहान सवेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्याालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए ।
कालिका भगवती मन्दिरमा २ पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको प्रमुख भुसालले जानकारी दिए । मूल दरबारको कैलास कोठाबाट भित्रि बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधि पूर्वक पूजाआजा गरी जमरा राखिएको उनले बताए । जमरा राख्नुअघि मूलदरबारमा पानी घडा स्थपना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।
बडादशैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसंगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलिदिने प्रचलन रहदै आएको छ । यस्तै घटस्थापनाको दिन बिहानको शुभसाइतमा आज गोरखाको प्रसिद्ध धार्मिक स्थलको रुपमा चिनिने मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए ।
मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए । परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण सोही अनुसार नित्य पुजा गरी जमरा राखिएको मूलपुजारी थापाले जानकारी दिए । गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनको भनाई छ ।