Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

रत्न ढकालः काभ्रेबाट राष्ट्रिय राजनीतिमा उदाएका युवा नेता

पोखरा प्रेस। विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री माननीय रत्न प्रसाद  ढकाल । नेपालमा बुर्जुवा शैक्षिक प्रणालीको विकास हुँदै गएपछि त्यसविरुद्ध अघि बढेको विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन रत्न ढकाल एक अविचलित योद्धाको रूपमा परिचित छन् ।

नेपालको शैक्षिक समस्या वर्गीय समस्याभित्रको एक अंश अझ भनौँ अभिन्न अंश हो भन्ने कुरा राम्रोसँग बुझेका ढकाल वर्ग मुक्ति आन्दोलनको बाटोमा निरन्तर लम्किरहे । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सामेल भए । माओवादी जनयुद्धमा होस् या शान्ति प्रक्रियामा मुलुक अघि बढिरहेको अवस्थामा होस् या राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा सधैँ चिन्ता गर्ने व्यक्ति हुन् ढकाल । भारतीय शासकहरूले नेपाल भूमिमा परेड खेल्दा सीमामा गएर नेपाली बहादुरी देखाउन लिपुलेकमा नेपालको राष्ट्रिय झण्डा फहराउने अभियानका नेता ढकाल राष्ट्रिय स्वाधिनताको पक्षमा सधैँ अग्रपङ्क्तिमा देखिन्छन् ।

पारिवारिक अवस्था

ढकालको जन्म २०३७ साल माघ ६ गते साविक चौंरी गाविस हाल चौंरी देउराली गाउँपालिका वडा नं. ५ मा बुबा शिवप्रसाद ढकाल र आमा रुकुमाया ढकालको कोखबाट भएको थियो । निम्न मध्यम वर्गमा जन्मेका ढकालका ५ बहिनी र २ भाईहरू छन् । मेनुका घिमिरे उनकी श्रीमती हुन् भने उनीहरूका दुई छोरी छन् ।

विद्यार्थी आन्दोलनमा १८ वर्ष

ग्रामिण क्षेत्रमा जन्मेका एक किसान परिवारको सदस्य ढकाल सानै उमेरदेखि विद्यार्थी संगठनमा संगठित भएका थिए । आफ्नो गाउँका माओवादी नेताहरू यान प्रसाद गौतम, तीर्थ गौतम, नविन गौतम, दिनानाथ गौतमलगायतबाट राजनीतिक प्रभावमा परेका ढकालले समाजमा रहेको हरेक विभेद, अन्याय र अत्याचार देखेका थिए । त्यही अनुसार उनलाई संगठित हुने रहर जागिरहेको थियो । क्रमश उनमा विद्रोही स्वभावको विकास भयो ।

त्यतिखेर नै ढकाल २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) मा संगठित भए । त्यही क्रममा २०५१ देखि २०५२ सम्म आफ्नै गाउँमा रहेको स्थानीय श्री जागृति निमाविको इकाई समिति उपाध्यक्षमा निर्वाचित भएका ढकाल २०५३ देखि २०५४ सम्म जागृति मावि इकाई समिति अध्यक्ष भएका थिए । त्यतिखेर जनयुद्ध आधार इलाका निर्माणको दिशामा अघि बढिसकेको थियो । प्रहरी दमन र ज्यादतिले ढकाललाई अझ संगठित हुने र विद्रोही हुने वातावरणको सिर्जना गर्दै थियो ।

स्थानीय जागृति माविबाट एसएलसी पास भएपछि उनी कलेज पढ्न काठमाडौं छिरेका थिए । शहर पसेर पनि उनी चुप भने बसेनन् । २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहीबेला देखि नै उनी अखिल (क्रान्तिकारी)को पूर्णकालीन सदस्यको रूपमा विद्यार्थी आन्दोलनमा लागे ।निरन्तर विद्यार्थी आन्दोलनमा लागेको उनी २०५७ सालमा अखिल (क्रान्तिकारी) को जिल्ला सदस्यमा निर्वाचित भए । २०५८ देखि २०६० सम्म अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बनेको ढकाल २०६१ मा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोजक बनेका थिए ।

माओवादी जनयुद्ध शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकालले अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय सचिव भएर काम गरे । त्यसैगरी २०६५ देखि २०६९ सम्म केन्द्रीय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रीय समितिको महासचिवको भूमिकामा रहे । माओवादीमा आएको फुटसँगै विभाजित बनेको वैद्य नेतृत्वको माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २०७२ देखि २०७३ सम्म केन्द्रीय अध्यक्ष बने ।

बेपत्ता, हिरासत र जेलमा झुकेनन् ढकाल

वुर्जुवा शिक्षाको अन्त्य र जनवादी शिक्षाको पक्षमा निरन्तर विद्यार्थी आन्दोलनमा रहेका ढकाल तत्कालीन प्रतिक्रियावादी राज्यसत्तालाई सह्यको विषय बनेको थिएन । माओवादी आन्दोलनकै एक अभिन्न अंगको रूपमा रहेको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अघि बढ्ने क्रममा उनी पटक पटक बेपत्ता, क्रुरतापूर्ण हिरासत र जेलसमेत बस्न बाध्य भएका थिए ।

उनलाई २०५८ मंसिरमा अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गर्‍यो । उनलाई अमानवीय र क्रुरतापूर्वक यातना दिई ११ दिनसम्म २ नम्बर गण महाराजगञ्जमा राखियो । विद्यार्थीहरूको प्रतिरोधात्मक आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए ।

तत्कालीन राज्यसत्ताले फेरि उनलाई २०५९ साल साउन ६ गते काठमाडौंको असनबाट गिरफ्तार गरी ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमा राख्यो । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएको थियो । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रीय कारागार चलान गरियो ।

२०५९ साल चैतमा फेरि उनी केन्द्रीय कारागारबाट रिहा भए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातनासहित बेपत्ता पारियो । त्यसपछि २०६२ मंसिरमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरियो । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते ढकाल नख्खु जेलबाट रिहा भए ।

ढकालः माओवादी सदस्य

विद्यार्थी आन्दोलनको एक होनहार योद्धको रूपमा आफूलाई स्थापित गराइसकेका ढकालले पार्टी सदस्यता भने २०५५ सालमा लिएका थिए । उनी २०५७ देखि २०५९ सम्म एरिया समिति सदस्य भएर पार्टीको काम गरेका थिए । त्यसै गरी २०५९ देखि २०६५ सम्म जिल्ला सदस्य/सचिवालय सदस्य भएर काम गरेका थिए । २०६५ देखि २०७१ सम्म राज्य समिति सदस्य बनेका थिए ।

माओवादी आन्दोलनमा फूट आएपछि ढकाल २०७२ मा नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति सदस्य बने । माओवादी घटकहरूको एकतापछि उनी नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरो सदस्यमा चयन भएका थिए ।

२०७४ सालमा सम्पन्न आम निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा ढकाल साझा उम्मेदवारको रूपमा चुनावी मैदानमा खडा भएका थिए । ढकाल नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर लामालाई पराजित गर्दै काभ्रेबाट बागमती प्रदेशसभा सदस्यमा विजयी बने ।

एमाले र माओवादी केन्द्रको एकतापछि ढकाल नेकपाको बागमती प्रदेश सचिवाल सदस्यमा चयन भएका थिए । पार्टी विभाजनपछि उनी बागमती प्रदेश सरकारको युवा तथा खेलकुदमन्त्री बनेका थिए । हाल पनि उनी मन्त्रीका रूपमा जनताको पक्षमा काम गरिरहेका छन् ।

पार्टीको एकताको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी काभ्रेको प्रभावशाली युवा नेताको रुपमा परिचित छन् । माओवादी आन्दोलनको एक योद्धा ढकाल जिल्लाको हरेक समस्यासँग परिचित छन् ।

काभ्रेको विकट गाउँबाट काठमाडौंसम्म राष्ट्रिय राजनीतिको राजमार्गको यात्रा थाल्ने काभ्रेली युवा, कलिलो उमेर मै भीषण वर्गसंघर्षको भट्टीबाट खहरीएको योद्धा, सरल र बौद्धिक व्यक्तित्वको रूपमा काभ्रेमा मात्र होइन देशैभरि परिचित छन् ढकाल ।

आफ्नो क्षेत्रका साथमा समृद्धशाली मुलुक निर्माणमा युवाहरूको ऐतिहासिक भूमिका हुन्छ भन्ने तथ्य प्रमाणित गर्न सक्ने क्षमता बोकेका ढकाल राष्ट्रिय राजनीतिमा समेत नेतृत्व विकास गर्न सक्ने व्यक्तित्व हुन् ।

फेरि उम्मेवार ढकाल

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको लागि ढकाल प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ (क) को प्रत्यक्ष तर्फको उम्मेदवारको रूपमा माओवादी केन्द्रले उभ्याएको छ । गठबन्धनको साझा उम्मेदवारको रूपमा खडा भएका ढकालले आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रमा करिब ४ अर्ब बजेटको व्यवस्था गरेका छन् । उनको पहलमा टोल–टोलमा सडक सञ्जाल विस्तार, स्तारोन्नति, कालपत्रे समेत भएको छ । प्रत्येक वडामा एक–एक वटा खेल मैदान निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ ।

विपक्षी दलमा आस्था राख्ने जनसमुदाय, युवाहरू, बुद्धिजीविहरूले समेत मन पराउने ढकाल साच्चिकै काभ्रेमा सबैको साझा उम्मेदवारको रूपमा खडा भएका छन् ।

arrow प्रतिक्रिया दिनुहोस्