Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

गाेरखाकाे रामशाहघाटको महादेव मन्दिर परिसरमा कार्तिक १७ र १८ गते भब्य मेला लाग्ने

loading views..

गोरखा/ गोरखा नगरपालिका वडा न १३ रामशाहघाट छेउको ओमकारेश्वर महादेव मन्दिर परिसमा हरिवोधनी एकादशीको अवसर पारेर भब्य मेला लाग्ने भएको छ । कात्तिक १७ र १८ गते मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा मेला हुने दरौँदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिका अध्यक्ष प्रकाश अधिकारीले बताए । तनहुँको आँबुखैरेनी, गोरखा नगरपालिका र शहीदलखन गाउँपालिका छुने, मस्र्याङ्दी र दरौँदी नदीको संगमस्थल रामशाहघाटमा विशेष मेला लाग्ने उनले बताए । ‘मस्र्याङ्दी नदीको वरपर, गोरखा र आँबुखैरेनीमा फुलको डोली तोरण टाँगिनेछ’, उनले भने, ‘भक्तजनहरुपनि फुलको डोली लिएर आउँछन् ।’ १७ गते बेलुकीदेखि बत्ती बाल्ने, पुजापाठ गर्ने र पञ्चेबाजा बजाएर तोरण टाँगिने उनले बताए । रातभर जागा बसेर भक्तजनहरु फूलको डोली लिएर फूल तार्न, बत्ती बाल्न त्यहाँ पुग्ने गर्छन । लामो समयअघि त्यहाँ पञ्चेबाजा सहितको जात्रा, पूजापाठ हुने गथ्र्यो । विविध कारणले रोकिएको सो कार्य धेरै समयपछि अहिले फेरि मन्दिरको संरक्षण, त्यहाँको प्रचार प्रसारकालागि यो कार्यक्रम गर्न लागिएको समितिका सल्हाकार राजन कट्टेलले बताए । ‘यहाँको धेरै प्रचार प्रसार होस् भनेर हामीले यस पटक पुजापाठ, मेला गर्न लागेका हौँ’ उनले भने । बजारक्षेत्रको नजिक, धार्मीक र ऐतिहासिक हिसाबले महत्व बोकेको रामशाहघाटको प्रचार प्रसार भने खासै नभएको उनले बताए । रामशाह घाट, त्यहाँको मन्दिर, निर्माण भएका संरचना संरक्षणका लागि स्थानीय सक्रिय भएका छन् ।राजा राम शाहको समादीस्थल भएकाले रामशाहाघाटको ऐतिहासिक महत्व रहेको समितिका सल्हाकार इश्वर परियार बताउँछन् । ‘जनै पूर्णिमाको दिन, शिवरात्री र हरिवोधनी एकादशीको दिन यहाँ विषेश पुजा र मेला लाग्छ’ उनले भने ‘यसलाई संरक्षण र जर्गेना गर्दै एउटा पर्यटकीय स्थलको रुपमा बिकास गर्न जरुरी छ ।’

वडा नम्बर १३ का वडा अध्यक्ष मित्रा परियारले एकादशीको दिन हुने पुजापाठका लागि वडा कार्यालयले २५ हजार बिनियोजन गरेको बताईन । ‘वडामा बजेट थोरै हुन्छ, यस मन्दिर र घाटको संरक्षणकालागि नगरपालिका, प्रदेश, संघ सँग वडाले गर्नुपर्ने समन्वय गर्नेछ’ उनले भनिन् ‘वडाभित्रको एउटा ऐतिहासिक र महत्वपूर्ण धार्मीक स्थल रहेको यसको संरक्षण आवस्यक रहेको बताईन ।’

अहिले त्यहाँका स्थानीय रामशाहाघाटको संरक्षण, मन्दिरको प्रर्वद्धन, नयाँ संरचना निर्माण र ब्यवस्थापनमा एकजुट भएर लागेका छन् । ‘हामीसँग स्रोत साधन छैन, बजेट अभावले योजना अनुसार काम गर्न पाएका छैनौँ’ संरक्षण समितिका अध्यक्ष प्रकाश अधिकारीले भने ‘करिब १० करोड हुने हो भने गुरुयोजना अनुसार काम गर्न र यसलाई आकर्षक पर्यटकीय स्थल बनाउन सकिन्छ ।’

 

हरिबोधनी एकादशीको दिन कात्तिक १७ गते साँझ १८ गते हुने पुजापाठ, फुलको डोली टाँग्ने कार्यक्रममा सहभागी हुन समितिले गोरखा, तनहुँ, लमजुङ, चितवन लगायत आसपासका जिल्लाबासीलाई पनि अनुरोध गरेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्