पोखरा। पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् । निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएका हुन् । उडानपश्चात् बुद्ध एयरलाइन्सका बजार निर्देशक (मार्केटिङ सेल्स डाइरेक्टर) रुपेश जोशीले नवनिर्मित विमानस्थल पूर्णरूपमा उडानयोग्य भएको बताउँदै आगामी जनवरी १ देखि यही विमानस्थलबाट उडान हुने जानकारी दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले आगामी दिनमा हवाई उडान अझै बढी सुविधामय बन्ने उनले विश्वास व्यक्त गरे ।बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको रात्रि बिसाउनी पनि गर्ने बताउँदै उनले पोखराबाट भारतको वाराणसीलाई जोड्नका लागि सम्बन्धित ठाउँहरूमा पत्राचार गरिसकिएको जानकारी दिए । अनुमति पाएका अवस्थामा दिल्ली, देहरादुन र अन्य भारतीय गन्तव्यमा उडान गर्ने बुद्धको तयारी छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए। यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ ।
तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।
उडान सञ्चालनकै तयारीस्वरूप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटान गर्न बाँकी काम तीव्ररूपमा भइरहेको जनाइएको छ ।जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान (हेलिकोप्टर र अल्ट्रालाइटबाहेक) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी गरिएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारीस्वरूप विमान कम्पनीले परीक्षण उडान गरिसक्दा यतिखेर समग्र पोखरेली हर्षित छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन्। “विमानस्थल पोखराको गौरव हो, यसलाई सुव्यवस्थित रूपमा सञ्चालन गरिनुपर्छ”, उनले भने, “आगामी जनवरी १ देखि विमानस्थल व्यस्तरूपमा चल्नुपर्दछ ।”