Skip to content
Pokharapress Logo
२६ श्रावण २०८२, सोमबार

गोरखाको रुईला नाका खुलाउन पहल गरिदिन प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र

काठमाण्डु। उत्तरी गोरखाको रईला नाका खुलाउन पहल गरिदिन माग गर्दै स्थानीयहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । विगत तीन वर्ष देखि बन्द रहेको नाका खुलाउन पहल गरिदिन स्थानीय बासिन्दाहरुले विहिबार प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल, चीन बीचको ३५ नंबर सीमास्तम्भमा अवस्थित रुईला नाका बिगत तीनवर्षदेखि बन्द हुँदा जनजीविकामा कठिनाइ भएकाले नाका खुलाई जनजीवन सहज बनाउन पहल गरिदिनु प्रधानमन्त्रीलाई बिशेष अनुरोध गरिएको स्थानीय मिङमार लामाले बताए ।

चुमनुब्रीमा गाउँपालिका भित्र ठूलो संख्यामा रहेका अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिई व्यवस्थित गर्न पहल गरिदिन र चुमनुब्री गाउँपालिकालाई बिगतदेखि घोषणा गरिएको हेलिको निषेधित क्षेत्रलाई खुल्ला गरिदिन अनुरोध गरिएको उनले जानकारी दिए ।

त्यस्तै, चुमनुब्रीमा बिरामी, घाइते तथा सुत्केरी उद्धारका लागि हेलिकोप्टर उडानको अनुमति लिन गृहमन्त्रालयबाट झण्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने र प्रक्रिया पूरा गर्दागर्दै बिरामी, घाइते तथा सुत्केरीको ज्यान जाने गरेकाले सो व्यवस्थालाई सहज बनाउन पहल गरिदिन आग्रह गरिएको छ ।

भौगोलिक विकटता झेलिरहेको चुमनुब्री गाउँपालिकालाई राज्यको सबै खालका सेवा सुविधा समानुपातिक तथा न्यायोचित वितरणका लागि छुट्टै जिल्ला तथा विशेष क्षेत्र घोषणा गर्न पहल गरिदिन अनुरोध गरिएको छ ।

त्रिदेशीय आर्थिक कारोबारको मेरुदण्ड बन्न सक्ने अनुमान गरिएको बेनिघाट, आरुघाट, लार्के सडक हाल नेपाली सेनाले निर्माण गरिरहेकोमा बजेट कम विनियोजन तथा विभिन्न समस्याले काम सुस्त गतिमा अघि बढेकाले सडक निर्माणलाई तिव्रता दिई यथासीघ्र सो सडक निर्माणको काम सम्पन्न गर्न पहल गरिदिन, मनास्लु हिमाल, लार्केपास तथा विभिन्न पर्यटकीय स्थलका कारण पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको चुमनुब्री गाउँपालिकामा सडक निर्माण भएपछि पर्यटकीय पदमार्ग संकटमा पर्नसक्ने हुँदा वैकल्पिक पदमार्गको व्यवस्था गर्न पहल गरिदिन ज्ञापनपत्र मार्फत अनुरोध गरिएको उनले जानकारी दिए ।

चुमनुव्री गाउपालिका वडा नं १ वा करिब तीन रोपनी मा रहेको गुम्बा क्षेत्रलाई विश्व सम्पदा सूची मा सुचिकृत गर्न गाउपालिकाबाट डिपिआर समेत भईसकेको र सो को लागि आवश्यक बजेट व्यवस्थापण गरिदिन, एक गाउँ, एक स्वास्थ्य चौकीको सुविधा सबै गाउँमा हुनु पर्ने अवधारणालाई पहल गराई दिन र भौगोलिक रुपमा विगट तथा असुविधाजनक हालको गाउपालिकाले सामागाउं, ल्हो, प्रोक र बिहीका बासीले २ घण्टामा पाउने सेवा सुविधा ३ दिन मा मात्रै सुविधा पाउने प्रणाली अनुसार चुमनुब्रीलाई २ गाउपालिका बनाउन आवश्यक पहल गराई दिन ज्ञापनपत्र मार्फंत अनुरोध गरिएको छ ।

मनासलु हिमाल तथा मनासलु पदमार्गबाट आउने पर्यटन शुल्क सम्बन्धित गाउपालिकामा आउनलाई आवश्यक पहल गरि दिन र चुमनुब्री गाउंपालिकालाई क बर्गको दुर्गमको मान्यता गराई दिनका लागि आवश्यक पहल गरिदिन प्रधानमन्त्री दाहाललाई अनुरोध गरिएको उनले बताए ।

गोरखाका पुर्व प्रतिनिधिसभाका सांसद तथा पुर्व राज्य मन्त्री छम बहादुर गुरुङ, धार्चे गाउँपापिलका अध्यक्ष लक्ष्मण गुरुङ, चुमनुब्री गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कुमारी गुरुङ लगायतका चुमनुब्री र धार्चेका स्थानीयहरुले प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

arrow प्रतिक्रिया दिनुहोस्