गोरखा। गोरखाको चुमनुव्री गाँउपालिकामा चुम शताब्दी श्याग्या महोत्सब २०८० हुने भएको छ । गोरखा सदरमुकाममा आज पत्रकार सम्मेलन गदै महोत्सव मूल समारोह समितिका अध्यक्ष निमा लामाले आगामी बैशाख ६ गतदेखि ९ गतेसम्म महोत्सव हुने जानकारी दिए । चुमनुब्री गाउँपालिका–७ छेकम्पार स्थित राजेन गुम्बामा मेला आयोजना गरिएको उनले बताए । चुम क्षेत्रको चिनारी, निरन्तरता, प्रचार–प्रसार र जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरेको चुमनुव्री गाउँपालिकाका अध्यक्ष समेत रहनु भएका लामाको भनाई छ । बि.स १९७७ को वुद्धजयन्ती अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिवद्धता गराउनुभएको थियो । त्यस समयदेखि चुमवासीले अहिंसात्मक क्षेत्र घोषण गरिएको हो । महोत्सबले चुमबासीहरुको सामाजिक साँस्कृतिक एकतालाई थप मजबुत बनाउनुका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा सहयोग पुुर्याउने र सामूहिक प्रतिवद्धतालाई अझ बलियो बनाउने विश्वास रहेको उनले बताए । महोत्सवको पहिलो दिन मेला उद्घाटन, प्रकृति पूजा, शान्तिदीप प्रज्वलन, अहिंसा क्षेत्र घोषणा,चुम उपत्यका स्थानीय समुदायद्धारा हस्ताक्षर प्रतिवद्धता जाहेर निरन्तरताका जनाउने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष लामाले जानकारी दिए । त्यस्तै दोस्रो दिन बैशाख ७ गते शान्तिको पदयात्रा, धर्म गुरुबाट क्षमापूजा, वुद्धका प्रवचन र साँस्कृतिक कार्यक्रम हुने जनाइएको छ । सोही अवसरमा सो क्षेत्रमा वृक्षरोपण गर्ने, ८ गते प्रकृती र संस्कृति संरक्षण गरी प्रमुख लब्राङ लामावाट ऐतिहासिक नाराक् छ्याम् लाखे, स्थानीय र परम्परागत खेलकुद कार्यक्रम सञ्चालन हुने उनले बताए । त्यस्तै महोत्सवको अन्तिम दिन बैशाख ९ गते परम्परागत घोडे जात्रा, स्थानीय सँस्कृति कार्यक्रमहरुको प्रर्दशनी गरी चुम श्याग्या शताब्दी महोत्सबको समापन गरिने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न लागि करिब १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म करिब ४५ लाख रुपैया संकलन गरिएको मूल समारोह समितिका अध्यक्ष लामाले जानकारी दिए । मेलामामा पालिका भन्दा बाहिरबाट एक हजारबढी महोत्सव अवलोकनका लागि आउने अपेक्षा गरिएको उनकाे भनाई छ । पर्यटक आउजाउ गरिरहने क्षेत्र भएकाले महोत्सवका हेर्न आउनेहरुका लागि खान र बस्नका लागि होटलको राम्रो सुविधा रहेको आयोजकले जनाएको छ । होटलमा बास नपुगे खानपान र बासस्थानका लागि होमस्टेको राम्रो ब्यबस्था रहेको उनले बताए । चुम उपत्यकामा हरेक वर्ष करिब १५ सय विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि पछिल्लो समय बढ्दै गएको उनले बताए । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिको उपाध्यक्ष लिला परियार, आदिवासी जनाजाती महासंघ परिसद गोरखाका अध्यक्ष बिष्णु राना मगर, आदिवासी जनजाती बिकास तथा संरक्षणका डा. पासाङ शेर्पा, समाजसेबी धिरज बहादुर मास्के लगायतको सहभागिता रहेको थियो ।
