गोरखा। सातौँ गोर्खाली रनिङ कप फुटबलको उपाधि सतिपिपल क्लवले जितेको छ । गाोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक हरमटारी क्लव ‘ए’ लाई ४–० गोल अन्तरले पराजित गर्दै सतिपिपल क्लवले जित हाँसिल गरेको हो ।
प्रतियोगिताको उपाधिसँगै सतिपिपलले नगद दुईलाख २२ हजार दुईसय २२ रुपैयाका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । सतिपिपलका लागि जर्सी नम्बर ११ का विक्की चाम्लिङ राईले हाट्रिक गरे भने जर्सी नम्बर ५ का विकास पौडेलले एक गोल गरे ।
उपविजेतमा चित्त बुझाउन बाध्य भएका आयोजक हरमटारी क्लवले नगद एक लाख ११ हजार एकसय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सेमिफाइनलमा पुग्ने पालुङटार नगरपालिकाको खोप्लाङ एफ सी र गोरखा नगरपालिकाको पृथ्वी युथ क्लबले नगद ५०÷५० हजार प्राप्त गरे ।
प्रतियोगिताभर खोप्लाङ एफ सीका खेलाडी समित थापाले १३ गोल गरेका थिए । उनलाई सर्वाधिक गोलकर्ता उपाधिसहित नगद रु सातहजार पाँच सयले सम्मान गरिएको क्लवका महासचिव किरण ढकालले बताए ।
त्यस्तै, उत्कृष्ट गोलकिपर सतिपिपल क्लवका सरोज तामाङ, उत्कृष्ट डिफेन्डर सतिपिपल क्लवका सहिद र उत्कृष्ट मिडफिल्डर हरमटारी क्लवका सन्तबहादुर गुरुङले जितेका छन् । उनीहरुलाई नगद ७ हजार ५ सयका दरले सम्मान गरिएको छ । साथै प्रतियोगितामा हरमटारी क्लवका लक्ष्मण थापा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १५ हजार सहित ट्रफीले सम्मान गरिएको छ ।
विजेता क्लव र खेलाडीलाई गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, उपपमुख मसलीमाया थोकर, क्लवका अध्यक्ष जीवन गुरुङले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।
यही फागुन ७ गतेबाट सुरु भएको प्रतियोगितामा शनिबार सम्पन्न भएको छ । हरमटारी क्लवको आयोजनामा भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।