Skip to content
Pokharapress Logo
१० असार २०८३, बुधबार

महासय, शोक धुन त्यति कर्ण प्रिय हुँदैन:रमेश थापा मगर

loading views..
Nepal Telcome

महासय, म यतिबेला
शान्त छु
चुपचाप छु
मौन छु
निर्मल छु
निश्चल छु
किनकि
म बुद्धको खोजिमा छु
म शान्तिको यात्रामा छु ।
मालश्रीको धुनसंग
बसन्तको गीत गाउदै
बम र बन्दुक बिसाएर
ढुंगाको अक्षर झै कुदिएको
शान्ति संझौताको मर्यादामा छु ।।
यतिबेला, प्रतिगमनको शंख फुक्दै
मलाई युद्धको यात्रा नसंझाऊ
शान्ति सहमतिलाई लत्याउदै
खाटा बसेको युद्धका घाउ नकोट्याऊ
यादगर महाशय,
आंशुको स्वाद गुलियो हुदैन
शोकधुन त्यति कर्णप्रिय हुदैन ।।
आजभोलि ,
दीगो शान्ति र स्थिरताका निम्ति
आरनहरुले आराम गरेको बेला
बन्दुकहरुले बिश्राम लिएको बेला
कानेखुसी गर्दै आतंक कारीको
बिल्ला भिराउछौ भने
राजतन्त्रको सिनु बोकेर
अदालतले फरमान जारी गर्छ भने
आदेश शिरोपर छ
मृत्यु स्वीकार्य छ ।

गणतन्त्रको यात्रामा एम्बुस थापेर
संघीयताको मुना नचिथोर
राजतन्त्रको भ्रम छरेर
संबृदिको सपना नखोस
सामन्तको पाउ पोस्दै
निम्छराको आशा नमार
संझाईरहनु नपर्ला
गणतन्त्रका यात्रीहरुलाई
जेल के हो? नेल के हो?
बताईरहनु नपर्ला
मृत्युञ्जयीहरुलाई
बिद्रोहको भेल के हो?
महाशय,
मान्छेका लागि सबैभन्दा ठूलो डर
भय , त्रास र मृत्यु हो
यी सबैलाई जितेपछि
हेगको त्रास के हो ? र!
अदालतको भय के ? छ र!
त्यसैले,भो अब नजिस्काऊ
महाशय, म यतिबेला
शान्त छु
चुपचाप छु
मौन छु
निश्चल छु
निर्मल छु
किनकि
म बुद्धको खोजिमा छु
म शान्तिको यात्रामा छु
मालश्रीको धुनसंग
बसन्तको गीत गाउदै
बम र बन्दुक बिसाएर
ढुंगाको अक्षर झै कुदिएको
शान्ति संझौताको मर्यादामा छु ।।
अहिले सम्झनाका तरेलीहरुमा
हिजोका क्रुर शासकहरुले
निहत्था पक्रिएर मारिएका
मुठभेटका नाममा
समातेर जिउदै जलाईएका
आफन्तकै अगाडि
बलात्कारमा परेका
अन्यायको बिरोध गर्दा
वेपत्ता पारिएका
परिवार र आफन्तजनका
आँसुका भेलहरु छन्,
आक्रोशका पहाडहरु छन्,
बेदनाका घाउहरु छन् र
चित्कारका ज्वालाहरु छन्
यिनका दुखेका मनहरुमा
मलमपट्टी लगाउनुको साटो
यिनका फाटेका तनहरु
आपसमा मिलाउनुको साटो
सहमतिका पानाहरु च्यात्दै
युद्धका रागहरु अलाप्दैछौ
साच्चै रहर छ ? महासय!
देश फेरि रणमैदान बनाउनलाई ?
साहस छ ? महाशय !
फेरि पनि मृत्यु गीत गाउनलाई ?
खै ! म कसरी सम्झाऊ तिमीलाई
आंशुको स्वाद गुलियो हुदैन
शोकधुन त्यति कर्णप्रिय हुदैन ।।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link