प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदा तीन प्रदेश सरकार धरापमा

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदा तीन प्रदेश सरकार धरापमा

 

चैत ५ गतेको उपराष्ट्रपति चुनाव लगत्तै प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने तयारी थालेका छन् । उता प्रदेशमा पनि उपराष्ट्रपति चुनावमा मतदान गर्न काठमाडौं आएका माओवादीका प्रदेश सरकारले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका कारण तीन वटा प्रदेश सरकार भने धरापमा पर्न लागेका हुन् ।यसका लागि माओवादी निर्णायक छ ।

प्रधानमन्त्री चयन हुने बेला बनेको समिकरण भत्काएर माओवादी केन्द्रले राष्ट्रपति चुनावपछि फेरि चुनाव अगाडीकै पूरानै समिकरण ब्यूताउने गरी अगाडी बढेपछि प्रदेश सरकारका संरचनामा पनि हेरफेर हुन लागेको हो ।त्यसका लागि माओवादी केन्द्रले एमालेले नेतृत्व गरेका प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

‘यता केन्द्रमा प्रधानमन्त्रीले आगामी मंगलबार (चैत ७ भित्र) प्रतिनिधिसभामा विश्वासको मत लिनुहुन्छ, उता त्यही बेलासम्मै कोशी, लुम्बिनी र गण्डकी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिने काम हुन्छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले मेरोन्यूजसँग भने ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री अहिले एमालेका नेता छन् ।
त्यसबाहेक मधेस प्रदेशमा जसपा, बागमति र कर्णालीमा माओवादी र सुदुरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ ।

पुस १० मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भईरहँदा बनेको समिकरणका आधारमा एमालेले नेतृत्व पाएका प्रदेशका सरकार बदल्ने र त्यसमा कांग्रेस र एकीकृत समाजवादीलाई दिने समझदारीका आधारमा ती प्रदेशमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।प्रदेश सरकारमा माओवादीले समर्थन फिर्ता लिएमा एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । माओवादीको साथ बिना अहिले एमालेले नेतृत्व गरिरहेका प्रदेश सरकारले संसदमा बहुमत जुटाउन सक्ने अवस्था छैन । त्यसो हुँदा ती प्रदेशहरुमा एकीकृत समाजवादी र कांग्रेसले प्रदेश सरकारको नेतृत्व गर्नेछन् । माओवादी र जसपाले भने अहिले नेतृत्व गरिरहेकै प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।

कोशीमा एकीकृत समाजवादी र गण्डकी तथा लुम्बिनीमा कांग्रेसले नयाँ सरकार निर्माण हुँदा प्रदेश सरकारको नेतृत्व लिने करिव समझदारी सत्ता गठबन्धन दलका शीर्ष नेताहरुकै बीचमा भईसकेको छ ।यसो हुँदा कांग्रेसलाई ३ (गण्डकी, लुम्बिनी र सुदुरपश्चिम) माओवादीलाई दुई (बागमति र कर्णाली) तथा एकीकृत समाजवादी र जसपालाई एक एक प्रदेश सरकारको नेतृत्व मिल्नेछ । जसपाले अहिलेनै मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने एकीकृत समाजवादीलाई कोशी प्रदेश सरकारको नेतृत्व दिने गरी गठबन्धन दलमा समझदारी बनिसकेको नेताहरुको भनाई छ । मात्र प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने या के गर्ने भन्नेमा भने छलफल बाँकी छ ।प्रधानमन्त्री प्रचण्डले पुस १० मा निर्माण भएको समिकरणका आधारमा सरकारमा सहभागी भएका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएको र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन कायम राखी सरकारबाट हटेको सन्दर्भलाई लिएर चैत ६ या ७ गते संसदमा विश्वासको मत लिने तयारी गरिरहेका छन् ।‘चैत ६ या ७ गते विश्वासको मत लिने तयारी भएको छ । यो दुई दिनमध्ये एक दिन प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुहुनछ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले भने,–‘यो दुई दिनमध्ये यही दिन भन्ने विषयमा भने गठबन्धन दलका बीचमा छलफलपछि तय हुन्छ ।’

कोशीमा एमालेका हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र लुम्बिनीमा लीला गिरि अहिले मुख्यमन्त्री छन् । यी तीन वटै प्रदेश सरकारमा माओवादी पनि सहभागी छ । तर एमालेसाग केन्द्रमा टुटेको गठबन्धनका आधारमा माओवादीले एमालेले नेतृत्व गरेका सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेका हुन् ।

माओवादीले नेतृत्व गरिरहेका कर्णालीमा बाहेक बागमति सरकारमा भने कांग्रेसले पनि विश्वासको मत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.