काठमाण्डु।बिभाजनको लामो शृखला ब्होरेको नेपाली कम्युनिष्ट इतिहासमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता पश्चात क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निर्माण भएको छ।पार्टी एकता पश्चात छरिएर रहेका क्रान्तिकारीहरुलाई ध्रुवीकृत र एकीकृत हुन हार्दिक आव्हान गरेको छ । नवगठित पार्टीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकता घोषणा वक्तव्य जारी गर्दै विभिन्न संसदीय संशोधनवादी दलहरुको भ्रममा परेका क्रान्तिकारीहरु, छरिएर रहेका स–साना समूहहरु र व्यक्तित्वहरुलाई यो ऐतिहासिक एकता प्रक्रियामा ध्रुवीकृत र एकीकृत हुन आह्वान गरेका छन् ।
पार्टी एकता घोषणा वक्तव्यमा भनिएको छ, “देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेका छन् । एमसिसी र एसपिपि जस्ता सम्झौताहरुमा पुगेर राष्ट्रियताको समस्या भयानक बनेको छ । झुठा मुद्दामा राजनैतिक नेता तथा कार्यकर्ताहरुलाई फसाएर तथा बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पुऱ्याएको छ । बैङ्कहरुको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र कथित सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्याहरु आकाशिएका छन् । राज्यसत्ता, सरकार र सम्वन्धित निकायहरु यी समस्याहरुको समाधान गर्नुको सट्टा आन्दोनलकारीहरुमाथि दमन गर्न उद्यत रहेको छ । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको अन्तिम समाधानका लागि जनसंघर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।”
