पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको थियो । यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा पाण्डे गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका थिए ।
पाण्डे गोरखाबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे छन् ।
नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।