पोखरा। पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।
नेपालस्थित चिनियाँ राजदूतावास,पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती एवम नेपालका लागी चिनियां राजदुत सङ छनले सयुक्त उद्घाटन गरे।मन्त्री किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यो महोत्सवले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको बताए।
आज र भोलि हुने प्रतियोगितामा चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा सिचुवान ड्रागन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जी ड्रागन्स, सिंगापुर, चाइना–नेपाल फे्रण्डशिप ड्रागन बोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एनआरसिए बोट टिम नेपाल, फेवा लेक ड्रागन बोट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्नेछन।
५ सय र दुई सय मिटरको दुरीमा डुंगा दौड हुनेछ । ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म यो दौड प्रतियोगिता सञ्चालन हुनेछ ।दुई दिने फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहने छ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागीका लागि ६० जना खेलाडी सहितको झण्डै २ सय चीनियाँ टोली प्लेन चार्टड गरेर पोखरा आइसकेका छन् ।
फेस्टिभलका लागि २ करोड ५० लाख खर्च लाग्ने अनुमान आयोजकको छ । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराले सहयोगी संस्थाका रुपमा रहेका छन् । यो महोत्सव पोखरेलीका लागि ऐतिहाँसिक महोत्सव भएकाले यसको अवलोकनका लागि आयोजकले सम्पूर्ण पोखरेलीलाई आव्हान गरेको छ ।
उक्त उद्धघाटन समाहरोमा नेपाल चीन एकेडेमीले ब्यानर सहित उपस्थिति जनाएको थियो।नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु पोखरामा भएकोमा ब्यानर प्रदर्शन गर्ने क्रममा एकेडेमीका सदस्य विपिन आचार्यले ड्रागन बोट रेस पोखरा हुनु गौरवको विषय हो, भन्दै महोत्सवको शुभकामना ब्यक्त गरेका थिए।ब्यानर प्रदर्शनमा एकेडेमीका सदस्यहरू शिव पौडेल,अमृतराज उपाध्याय कमला ढकाल र दिनेश लिम्बु लगायतको उपस्थीति रहेको थियो।