साल्ट ट्रेडिङमा सस्तो चिनीको स्टक सकिँदै, मन्त्रालयबाट स्वीकृति नपाउँदा थप आयातमा अन्योल

साल्ट ट्रेडिङमा सस्तो चिनीको स्टक सकिँदै, मन्त्रालयबाट स्वीकृति नपाउँदा थप आयातमा अन्योल

  • आइतबार, मंसिर २८ २०७७

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत भन्सार दरमा आयात गरेको २० हजार मेट्रिक टन चिनीको स्टक सकिन लागेको छ।

२० हजार मेट्रिक टनमा अब ३५ सय टन चिनी मात्र बाँकी रहेको साल्ट ट्रेडिङका सूचना अधिकृत कुमार राजभण्डारीले बताए । ‘स्टक धेरै छैन। ३५ सय टनले धेरै समय पुग्दैन। त्यसैले उपभोक्तालाई सीमित मात्रामा बिक्री गरिरहेका छौं,’ उनले भने।

बजारको भन्दा सहुलियत दरमा प्रतिकेजी ७० रुपैयाँमा बिक्री गरेपछि कर्पोरेसनमा चिनीको माग उच्च थियो।

उक्त २० मेट्रिक टन चिनी दसैं अघि आइपुगेको थियो। यस अघि लकडाउनमा आयात भएको चिनी स्टक राखेर कर्पोरेसनले सीमित मात्रामा बिक्री गर्दै आएको थियो।

सहुलियत दरमा एक जनालाई १५ किलोसम्म दिने भनिए पनि स्टक कम भएकाले अब केही समय ५ किलोमात्र दिने समेत सूचना अधिकृत राजभण्डारीले जानकारी दिए।

गत तिहारको समयमा चिनीको खपत निकै बढेको थियो। त्यसबेला सहुलियत पसल चलिरहेकोले साल्ट ट्रेडिङको आउलेटहरुबाट दैनिक ११ सय पाकेट भन्दा बढी चिनीको बिक्री भएको थियो। सहुलियत पसल सकिएपछि नयाँ आयात भएको भन्दै चिनीको मूल्य बढाएर साढे ७७ रुपैयाँ पुर्‍याइएको छ।

 

साल्ट ट्रेडिङबाट पहिले दसैंतिहारमा मात्र ३० हजार मेट्रिक टन चिनीको खपत हुँदै आएको थियो। यसवर्ष दसैंतिहारका लागि ५० हजार मेट्रिक टन चिनी आयातका लागि मन्त्रालयमा पत्राचार गरेपनि २० हजार मेट्रिक टनको मात्र स्वीकृति पाएको थियो।

साल्ट ट्रेडिङले थप ३० मेट्रिक टन चिनी आयातका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको छ। गत असोजमा मन्त्रालयमा पत्राचार गरे पनि अहिलेसम्म त्यसबारे निर्णय नभएकाले थप प्रक्रिया अघि बढाउन नसकेको पनि सूचना अधिकृत राजभण्डारीले बताए।

साल्ट ट्रेडिङले चिनी ल्याएर बिक्री गरिसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा भने अहिलेसम्म १० हजार मेट्रिक टन चिनीको ठेक्का लाग्न सकेको छैन।

साल्ट ट्रेडिङको भन्दा आयातका लागि समय धेरै लाग्ने भएपनि भारतमा चिनीको मूल्यमा उतारचढाव भइरहँदा ठेक्का लिन नमानेको कम्पनीले जनाएको छ। हाल खाद्यले साल्ट ट्रेडिङबाट नै चिनी खरिद गरी बिक्री गर्दै आएको छ। बिजमाण्डुबाट साभार

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.