Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

प्रधानमन्त्री केपी ओलीले गरे देशकै ठूलो सबस्टेसन उद्घाटन

loading views..

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो ४ सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन् । सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४ सय केभी र २ सय २० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् ।

सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अन्धकार युगको समाप्ति भएको र अब देशको चौतर्फी विकास हुने बताएका छन् । उनले अब कृषिमा आधुनिकीकरण, सिँचाइ, उद्योग, व्यवस्थित बसोवास, सहरीकरण, डिजिटलाइजेसन हुने बताए । मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब २ अर्ब २० करोड लगानीमा निर्माण भएको ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३ सय १५ एमभिए क्षमताका तीनवटा गरी ९ सय ४५ एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् । जसले करिब ९ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्छ । यसैगरी, २२०/१३२ केभी सबस्टेसनमा रहेका तीनवटा ट्रान्सफर्मरको क्षमता ६ सय ३५ एमभिए छ भने अर्को ३ सय १५ एमभिए जडान भइरहेको छ ।

सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फपुर पहिलो ४ सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच करिब १ हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिनेछ । हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब २–२ सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौँडा र इनरुवातर्फ पठाउन सकिनेछ ।

दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गोंगर–खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिनेछ । हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १ सय ३२ केभी प्रसारण लाइनमार्फत करिब ३ सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिनेछ ।

आन्तरिक खपत गरेर बढी भएको विद्युत्लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिनेछ । जिआइएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ । भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केबर सबस्टेसनमा प्राप्त हुनेछ ।

४ सय केभी सबस्टेसन निर्माणका लागि २२ माघ ०७४ मा ठेक्का सम्झौता भएको थियो । डुबान, शीतलहर तथा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को कहरले सबस्टेसनको निर्माण प्रभावित भएको थियो । आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनइए इन्जिनियरिङले गरेको थियो ।

सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२ केभी सबस्टेसनको निर्माण भएको हो । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सुदृढीकरण गरिएको हो । उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साहलगायतको उपस्थिति थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर लेखिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्