Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

“पोखरामा रु ५ करोड लागतमा सुविधासम्पन्न ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनको तयारी”

loading views..
Nepal Telcome

पोखरा, पुस १४ गते। कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण भएको छ। स्वीजरल्याण्डको किसान संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा निर्मित ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो।

निर्माण सम्पन्न सेवा केन्द्र आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ, जसको सञ्चालन प्रतिष्ठानले गर्नेछ। प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले सेवा केन्द्रले ६५ वर्ष उमेर माथिका असहाय, गरीब तथा विपन्न नागरिकलाई आवासीय सुविधा प्रदान गर्ने जानकारी दिनुभयो।

सेवा केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै भवन, क्लिनिक, पुस्तकालय, योग कक्ष, ध्यान कार्यक्रम र कर्मचारी आवास सहितका चारवटा भवन रहेका छन्। सेवा केन्द्रलाई आत्मनिर्भर बनाउन शुल्क तिरेर ज्येष्ठ नागरिक राख्ने व्यवस्थासमेत गरिएको छ। दवाडीका अनुसार सुरुका तीन वर्षसम्म सञ्चालन खर्च एहमान फाउण्डेसनले बेहोर्नेछ।

सेवा केन्द्रका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा परिवारजनले चार रोपनी जमिन दान गरेका थिए। सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकलाई नर्सिङ सेवा, परामर्श, र अडियो–भिजुअल सुविधासमेत उपलब्ध हुनेछ।

प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले अबको तीन महिनाभित्र सेवा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिनुभयो। कार्यक्रममा जग्गादाता तथा एहमान फाउण्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो।

आमा स्मृति प्रतिष्ठानले यसअघि घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र पनि सञ्चालन गर्दै आएको छ, जसमा वृद्धवृद्धाले दिनभर सुविधा प्राप्त गर्दै आएका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link