पोखरा, १० कात्तिक । बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको गम्भीर असर पर्नसक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागद्वारा जारी विशेष बुलेटिनअनुसार उक्त चक्रवात आगामी कात्तिक ११ गते भारतको जमिन भू-भागमा प्रवेश गर्ने सम्भावना छ। यसको असर नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि देखिने र विशेषगरी कात्तिक १३ तथा १४ गते देशभर प्रभाव विस्तार हुने पूर्वानुमान गरिएको छ।
प्राधिकरणका अनुसार कात्तिक १३ र १४ गते गण्डकी, कोसी, बागमती, मधेश र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी देखिनेछ। यी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात, हिमआँधी एवं हिमपहिरोको उच्च जोखिम औंल्याइएको छ।
चक्रवातका कारण कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदी जलाधार तथा तिनका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्नसक्ने चेतावनी समेत दिइएको छ।
सम्भावित प्राकृतिक विपद्को क्षति न्यूनीकरण गर्न प्राधिकरणले आम नागरिक तथा सरोकारवाला निकायहरूका लागि ८ बुँदे सतर्कता सुझाव जारी गरेको छ :
१. कृषि कार्य : धानबाली काट्ने तथा भित्र्याउने कार्य कात्तिक १२ गते बिहीबार अगावै सम्पन्न गरिसक्ने।
२. पदयात्रा र पर्यटन : उक्त अवधिभर पर्यटकहरू उच्च पहाडी तथा हिमाली भेगमा नजाने; गइसकेको भए सुरक्षित स्थानमा आश्रय लिने।
३. सवारी व्यवस्थापन : जोखिमको अवस्था हेरी आवश्यक परेमा सवारी आवागमन बन्द गर्ने र सोको पूर्वसूचना सर्वसाधारणसम्म पुर्याउने।
४. यात्रामा सतर्कता : सडक तथा हवाई यातायात अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक बाहेकका लामो यात्रा नगर्ने, नगराउने।
५. सरोकारवालाको तयारी : संघीय, प्रदेश तथा स्थानीय सरकार, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकहरूले नागरिकलाई जोखिमबारे सुसूचित गराउँदै प्रतिकार्यका लागि पूर्ण तयारी अवस्थामा रहने।
६. सुरक्षित स्थानान्तरण : जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारहरूलाई पूर्वसूचनाका आधारमा विपद् सुरु हुनुअगावै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने।
७. सूचना पालना : प्राधिकरण तथा मौसम विज्ञान विभागद्वारा जारी हुने आधिकारिक तथा अद्यावधिक सूचना र चेतावनीहरूको कडाइका साथ पालना गर्ने।
८. आपत्कालीन सम्पर्क : मौसमसम्बन्धी जानकारी लिनका लागि टोल-फ्री नम्बर ११५५ तथा विपद् उद्धार एवं सहयोगका लागि १२३४, १०० वा १११४ मा तत्काल सम्पर्क गर्ने।






