Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

loading views..
Nepal Telcome

काठमाडौं,पुस २६ गते। नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। माघ १ गतेदेखि यो व्यवस्था लागू हुने राष्ट्र बैंकले जनाएको छ।

बिहीवार एकीकृत निर्देशन, २०८० संसोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूले खाता खोल्न राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरको प्रयोग अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको हो।

राष्ट्र बैंकको निर्देशन अनुसार, २०८१ माघ १ गतेदेखि खाता खोल्ने क्रममा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा पहिचान सुनिश्चित गरिनुपर्नेछ। यसका लागि राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरकै प्रयोग अनिवार्य हुनेछ।

तर, सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा भने सम्बन्धित सरकारी निकायको विवरणको आधारमा खाता खोल्न सकिने व्यवस्था गरिएको छ। यद्यपि, खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान निर्देशन अनुसार गरिनुपर्नेछ।

यो निर्देशन गत कात्तिकमा संशोधन भएको सम्पत्ति शुद्धीकरण निवारण नियमावली–२०८१ सँग मेल खाने गरी ल्याइएको हो। यसमा ग्राहक पहिचानका लागि नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमा रहेको विद्युतीय विवरण प्रयोग गर्न सकिने व्यवस्था छ।

यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान प्रक्रियामा सहजता ल्याउँदै धोखाधडी तथा गैरकानूनी गतिविधिहरू रोक्न मद्दत गर्ने राष्ट्र बैंकले अपेक्षा गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link