Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पुलचोक–गोन्द्राङ ६ लेन सडक विस्तार अन्तिम चरणमा

loading views..
Nepal Telcome

चितवन, पुस २६ गते। पुलचोक–गोन्द्राङ सडकलाई ६ लेनमा विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन भरतपुरका अनुसार, हालसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। अहिले डिभाइडरमा रङ लगाउने, लाइनिङ गर्ने, बत्ती जडान गर्ने लगायत फिनिसिङका काम भइरहेका छन्। पुस मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित तेस्रोपटक थपिएको म्यादमा काम सम्पन्न हुने तयारी छ।

सडक डिभिजन भरतपुरकी इन्जिनियर शिला न्यौपानेका अनुसार, भाटभटेनी सुपरमार्केट अगाडि कालोपत्रको अन्तिम तह बाँकी रहे पनि अन्य स्थानमा फिनिसिङका काम तीव्र रूपमा भइरहेका छन्। निर्माण व्यवसायीले भुक्तानीका लागि बिल पेस गर्न बाँकी रहेकाले दशैंपछि भुक्तानी रोकिएको उनले बताइन्। यसका लागि थप आठ करोड रुपैयाँ माग गरिएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडकमा दुईओटा एक्सप्रेस लेन र दुईओटा सर्भिस लेन निर्माण गरिएको छ। भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्म घटाइएको छ। यो परियोजनाको लागत १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ।

सडकको दायाँ–बायाँ ११.५ मिटर चौडा एक्सप्रेस लेन, ३–४ मिटरको मेडियन (जहाँ दुबो र बिरुवा लगाइएको), दुवैतर्फ ठूला नाली, ६ मिटरको सर्भिस लेन, र त्यसपछाडि ३–४ मिटरको फुटपाथ निर्माण गरिएको छ।

तर, बजार क्षेत्रमा सर्भिस लेन मात्र नभई एक्सप्रेस लेनमै पनि सवारीसाधन पार्किङ गर्दा सडक अव्यवस्थित हुने समस्या देखिएको छ। एक्सप्रेस लेन लामो दूरीका सवारीका लागि र सर्भिस लेन छोटो दूरीका सवारीका लागि निर्माण गरिएको हो।

यो सडक विस्तारले चितवनका बासिन्दा र सडक प्रयोगकर्तालाई थप सहजता र सुविधायुक्त यात्रा प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link