Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

‘न्याय गर्न आएको हुँ, सम्झौता गर्दिनँ’ – सपना प्रधान मल्ल

केपीको विपक्षमा फैसला गर्दा आफूलाई ‘प्रधानन्यायाधीश नबनाइने’ धम्की आयो

loading views..
Nepal Telcome

काठमाडौं,माघ २५ गते। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव न्यूनीकरण गर्नुपर्ने बताउँदै, ‘न्यायाधीश बन्ने उद्देश्य न्याय गर्नु हो, पद प्राप्ति होइन’ भन्ने स्पष्ट धारणा व्यक्त गरेकी छन्।

हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजमा आयोजित ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’ को समापन सत्रमा बोल्दै उनले संसद् विघटन मुद्दामा सरकारको विपक्षमा फैसला गर्दा आफूलाई ‘प्रधानन्यायाधीश नबनाइने’ चेतावनी दिइएको खुलासा गरिन्।

‘नबनाए के भो? म न्यायाधीश न्याय गर्न आएको हुँ’

विद्यार्थीहरूले संसद् विघटन फैसलासम्बन्धी प्रश्न गर्दा उनले भनिन्, ‘धम्की त आयो नै! तर मेरो जवाफ थियो— नबनाए के भो? म प्रधानन्यायाधीश बन्न होइन, न्याय गर्न आएको हुँ।’

उनले संविधानसँग कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै थपिन्, ‘न्यायको बाटोमा ज्यान नै जोखिममा पर्छ भने पनि म पछि हट्दिनँ।’

न्यायालयमाथि दबाब, तर न्यायाधीश निर्भीक हुनुपर्छ

उनका अनुसार सरकार, सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट न्यायपालिकामाथि व्यापक दबाब रहन्छ। ‘तर न्यायाधीश यस्ता दबाबबाट प्रभावित भए भने न्याय मर्छ,’ उनले चेतावनी दिइन्।

बलात्कार र महिला हिंसाका घटनाहरू बढिरहेको उल्लेख गर्दै उनले न्याय प्राप्तिका लागि कानुनी ज्ञान, यौन शिक्षा, र प्रमाण जुटाउने संस्कार आवश्यक रहेको बताइन्।

‘न्यायिक नियुक्तिमा राजनीति हाबी छ, सुधार जरुरी छ’

उनले न्यायाधीश सिफारिस र नियुक्ति प्रक्रिया अत्यधिक राजनीतिक भएको उल्लेख गर्दै भनिन्, ‘प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद् नै राजनीतिक छ। संसदीय सुनुवाइ पनि राजनीति नै बनिसकेको छ।’

तर, उनले न्यायालयको निष्पक्षतामा अझै विश्वास रहेको बताउँदै जोड दिइन्, ‘न्यायाधीशको मूल्यांकन विगतको राजनीतिक सम्बन्धबाट होइन, फैसलाको स्वच्छताबाट हुनुपर्छ।’

सपना प्रधान मल्लका विचारले न्यायिक स्वायत्तता, निष्पक्ष न्याय, र निर्भीक न्यायाधीशको आवश्यकतालाई उजागर गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link