Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच वासिङटन डीसीमा तनावपूर्ण बहस

loading views..
Nepal Telcome

वासिङटन डीसी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच वासिङटन डीसीमा भएको भेटघाट तनावपूर्ण बहसमा परिणत भएको छ। भेटका क्रममा दुवै नेताबीच चर्काचर्की भएको र शान्ति सम्झौताको विषयमा गम्भीर मतभेद देखिएको जनाइएको छ।
ट्रम्पले जेलेन्स्कीलाई शान्ति सम्झौताप्रति गम्भीर नभएको आरोप लगाएका छन्। जेलेन्स्कीलाई लक्षित गर्दै ट्रम्पले भने, “तपाईंको मनसाय सम्झौता गर्ने जस्तो देखिंदैन। युक्रेनले रूससँग युद्ध जित्न सक्दैन।” उनले थपे, “यदि मैले आफूलाई रूस र युक्रेनको बीचमा नराखेको भए, तपाईंहरूले कहिल्यै सम्झौता गर्नुहुने थिएन।”
भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीलाई “अपमानजनक” व्यक्तिको संज्ञा दिएका छन्। यसअघि जेलेन्स्कीले ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शान्ति वार्तामा “कुनै सम्झौता” नगर्न आग्रह गरेका थिए। जवाफमा ट्रम्पले युक्रेनको अडानले शान्ति सम्झौता असम्भव भएको बताए। उनले भने, “तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ, तर अर्को पक्षले तपाईंलाई मन पराउनुपर्ने कुनै कारण छैन। तपाईं मलाई कडा बनोस् भन्ने चाहनुहुन्छ। म यो संसारको जोसुकैभन्दा कडा हुन सक्छु, तर यस्तो रवैयाले सम्झौता सम्भव छैन।”
भेटको माहोल तब झनै तनावपूर्ण बन्यो जब जेलेन्स्कीले उपराष्ट्रपति भान्सलाई “कस्तो कूटनीतिको कुरा गर्दै हुनुहुन्छ?” भनी प्रश्न गरे। जवाफमा भान्सले आफूले युक्रेनमा भएको विनाश रोक्ने कूटनीतिको कुरा गरेको बताउँदै जेलेन्स्कीले त्यसको कदर गर्नुपर्नेमा त्यसो नगरेको गुनासो गरे। जेलेन्स्कीले भने, “मैले धेरै पटक धन्यवाद दिइसकेको छु,” भन्दै जवाफ फर्काए।
ट्रम्पले थप कडा शब्दमा भने, “युक्रेन ठूलो संकटमा छ। तपाईं यो समस्यालाई जित्न सक्नुहुन्न। यदि हामी युक्रेनको साथमा भएनौं भने तपाईंसँग बाहिर निस्कने कुनै बाटो छैन।” उनले अमेरिकाले युक्रेनलाई ३५० अर्ब डलर र ठूलो परिमाणमा सैन्य सहायता प्रदान गरेको उल्लेख गर्दै भने, “हामीले सैन्य सहयोग नगरेको भए, यो युद्ध दुई हप्तामा सकिन्थ्यो।”
ट्रम्पले जेलेन्स्कीमाथि युद्धविरामको मनसाय नराखेको आरोप पनि लगाए। जवाफमा जेलेन्स्कीले भने, “हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौं।” रूस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न केही समयअघि अमेरिका र रूसका प्रतिनिधिहरूबीच वार्ता भएको थियो, तर हालसम्म ठोस नतिजा निस्किएको छैन।
यो भेटले दुई नेताबीचको सम्बन्धमा गहिरो दरार उत्पन्न भएको संकेत गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link