Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

सिरानचोकमा जनयुद्धका महान सहिद गोविन्द खनालका दाजु धनबहादुर खनालको स्मृति सभा सम्पन्न

loading views..
Nepal Telcome

धनबहादुर तामाङ/गोरखा, फागुन २५ गते। जनयुद्धका महान सहिद गोविन्द खनालका दाजु धनबहादुर खनालको स्मृति सभा उहाँकै घर सिरानचोक गाउँपालिका–२, खनालथोकमा सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश सह-इन्चार्ज हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न नेताहरूले स्व. खनालको योगदानको स्मरण गरेका छन्।

स्मृति सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले स्व. धनबहादुर खनालको निधन पार्टीका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै उहाँको अभाव सधैँ खड्किरहने बताउनुभयो। “उहाँ महान सहिद गोविन्द खनालका दाजु हुनुहुन्थ्यो। उहाँ एक साहसी, निडर र सक्षम नेता हुनुहुन्थ्यो” प्रमुख अतिथि अधिकारीले भन्नुभयो।

३८ वर्ष शिक्षण पेशामा समर्पित खनाल यही पुस १४ गते अवकाश लिनुभएको थियो। विद्यार्थी जीवनदेखि नै कम्युनिस्ट विचारधारा अँगाल्दै आउनुभएका खनाल उत्पीडनको विरुद्धमा सानै उमेरदेखि संघर्षरत हुनुहुन्थ्यो। उहाँको निधन फागुन १९ गते भएको थियो। अधिकारीले खनालको योगदान स्मरण गर्दै भन्नुभयो, “यो क्षेत्रको बाटोघाटो, बिजुली, कुलोलगायतका विकास निर्माणमा उहाँको ठुलो योगदान छ। यी सम्पूर्ण संरचनाहरू उहाँको प्रतिबिम्ब हुन्, जसले हामीलाई सधैँ प्रेरित गर्छ।”

कम्युनिस्ट नेताहरूको भावपूर्ण श्रद्धाञ्जली

कार्यक्रममा गोरखा जिल्ला इन्चार्ज अमर तमुले स्व. खनालको निधनले आफू अत्यन्तै मर्माहित भएको बताउनुभयो। “उहाँ व्यक्तिगत रूपमा मेरो अभिभावक हुनुहुन्थ्यो।

लामो समय शिक्षण पेशामा संलग्न रहनुहुने खनाल एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला सदस्यका रूपमा पनि सक्रिय हुनुहुन्थ्यो,” तमुले भन्नुभयो। साथै, उहाँले खनाललाई एक स्पष्ट वक्ता, कुशल निर्णयकर्ता र प्रेरणादायी नेता भएको स्मरण गर्नुभयो।

लमजुङ जिल्ला इन्चार्ज पारसमणि पौडेलले गोरखा र लमजुङ जिल्ला भौगोलिक रूपमा फरक भए पनि आत्मीय सम्बन्धका कारण आफूहरू एउटै परिवारको जस्तो अनुभूति हुने बताउनुभयो।

नेकपा (माओवादी केन्द्र) का विभिन्न नेताहरूको सहभागिता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिरानचोक गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा सिरानचोक गाउँपालिका इन्चार्ज तथा प्रदेश कमिटी सदस्य नवराज परासैनी “गुराँस”, जेष्ठ कम्युनिस्ट मञ्च गण्डकी प्रदेशका अध्यक्ष नरनाथ मरहट्टा, खनालका कान्छा छोरा उमेश खनाललगायतले मन्तव्य राख्नुभएको थियो।

स्मृति सभामा पार्टीका केन्द्रीय सदस्यहरू दीपक कोईराला “रुपक”, सुसिला सिङ्खडा, मधु अधिकारी, भगवती तिवारी, कमला नहर्की, वैकल्पिक केन्द्रीय सदस्य विष्णु भट्ट, प्रदेश सह-सचिव मेख बहादुर भण्डारी, प्रदेश कमिटी सदस्य तथा गोरखा जिल्ला समन्वय सचिव अङ्कुर तिमिल्सिना, इन्दिरा पोखरेललगायत नेताहरूको उपस्थिति रहेको थियो।

खनाल परिवारको योगदान र उत्तराधिकारीहरू

दिवङ्गत खनालका जेठा छोरा दिनेश खनाल हाल सिरानचोक गाउँपालिका–२ का वडा कमिटी सह-सचिवको भूमिकामा छन् भने कान्छा छोरा उमेश खनाल गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिमा सक्रिय भएर कार्यरत छन्।

स्मृति सभामा सहभागी नेताहरूले धनबहादुर खनालको योगदानलाई सधैँ सम्मान गर्दै उहाँको विचार र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link