Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, सांसद पद निलम्बन

loading views..
Nepal Telcome

काठमाडौं,जेठ २२ गते। पतञ्जलि योगपीठ जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारसम्बन्धी अदालतमा मुद्दा दर्ता भएको यो पहिलोपटक हो। मुद्दा दर्ता भएसँगै नेपालको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३३ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा पद स्वतः निलम्बनमा पर्ने प्रावधान रहेको छ।

नेपाल २०७९ सालको निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

जग्गा खरिद, हदबन्दी छुट र विवाद

भारतको पतञ्जलि योगपीठले काभ्रेपलाञ्चोकमा जडीबुटी खेती, आयुर्वेद शिक्षालय तथा अस्पताल निर्माण गर्न भन्दै २०६४ सालमा नेपालमा कम्पनी दर्ता गराएको थियो। संस्थाले हदबन्दीभित्रको जग्गा प्रयाप्त नपुगेपछि सरकारसँग विशेष छुट माग गरेको थियो। तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट पतञ्जलिलाई हदबन्दी छुट दिइएको थियो।

तर पछि, उक्त जग्गा पतञ्जलिले बिक्री गरेको तथ्य फेला परेपछि अख्तियारले अनियमितताको आशङ्कामा छानबिन अघि बढाएको थियो। सरकारी निर्णयबाट हदबन्दी छुटमा प्राप्त जग्गा पुनः मन्त्रिपरिषद्को निर्णयमार्फत बिक्री गरिनु कानुनविपरीत मानिएको छ। भूमि ऐन, २०२१ अनुसार हदबन्दी छुटमा प्राप्त जग्गा बिक्री गर्न पाइँदैन।

पूर्वप्रधानमन्त्री नेपालको असन्तुष्टि

छानबिनका क्रममा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिएको थियो। नेपालले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा बदनियतपूर्ण तरिकाले अनुसन्धान गरिएको गुनासो गरेका थिए। उनले आफूलाई सार्वजनिक रूपमा बदनाम गर्ने नियतले प्रक्रिया अघि बढाइएको आशंका व्यक्त गरेका थिए।

यता, अख्तियारले भने बयान गोप्य ढंगले लिइएको र त्यसको विवरण बाहिर ननिस्कने सुनिश्चितता दिएको जनाएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link