Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गण्डकीमा तामाङ भाषा विषयक प्रदेशस्तरीय कार्यशाला सम्पन्न

loading views..
Nepal Telcome

डिबी तामाङ/ लमजुङ २२ गते। नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश कार्यसमितिको आयोजनामा “गण्डकी प्रदेशभित्र सरकारी कामकाजी भाषामा तामाङ भाषाको सम्भावना र चुनौती” विषयक एक दिने प्रदेशस्तरीय कार्यशाला गोष्ठी लमजुङको बेसीसहरमा सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा ललितपुरको सहयोगमा सम्पन्न उक्त कार्यक्रम गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता जनाएका तामाङ प्रतिनिधिहरुको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा उपस्थित भाषाविद् अमृत योञ्जन तामाङले गण्डकी प्रदेशमा तामाङ भाषाको उपयोग, संरचना, कानुनी आधार र सम्भावनाबारे विस्तृत डाटा प्रस्तुत गर्नुभयो। उहाँले संविधान २०७२ अनुसार जनसंख्याको १% भन्दा बढीले बोलेको भाषा सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्थालाई स्मरण गराउँदै तामाङ भाषाको सम्भाव्यतालाई आधारसहित प्रस्तुत गर्नुभयो।

नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोली तामाङले तामाङ भाषा शिक्षाको वर्तमान अवस्था, यसको व्यावहारिक कार्यान्वयन तथा भारतको सिक्किममा १२ कक्षा सम्म तामाङ भाषामा पढाइ भइरहेको तथ्य प्रस्तुत गर्नुभयो। साथै, नेपालका विभिन्न जिल्लामा समेत तामाङ भाषामा शिक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो।

त्यस्तै, नेपाल तामाङ घेदुङका उपाध्यक्ष धनप्रसाद तामाङले तामाङ भाषा, संस्कार र संस्कृतिको परम्परागत सम्बन्धबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।

कार्यक्रममा पालुङटार नगरपालिका, गोरखाका प्रमुख विबस चिन्तनले शुभकामना मन्तव्य दिंदै तामाङहरुको बाहुल्यता भएको गाउँलाई “तामाङ गाउँ” र गुरुङको अधिकता भएको गाउँलाई “गुरुङ गाउँ” भनिएको उल्लेख गर्दै, गण्डकी प्रदेशभित्र तामाङ समुदायको उल्लेख्य उपस्थिति भएकाले यस क्षेत्रलाई ‘ताम्सालिङ’ भन्न माओवादीहरूले पहल गरेको भए तापनि माओवादी आन्दोलन कमजोर हुँदा त्यो कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा गण्डकी प्रदेश तामाङ घेदुङका निवर्तमान अध्यक्ष हरिजङ तामाङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष रामकुमार श्रेष्ठलगायतका व्यक्तिहरुले पनि शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यशालाले गण्डकी प्रदेशमा तामाङ भाषाको आधिकारिकता, प्रयोग र संरक्षणसम्बन्धी बहसलाई नयाँ उचाइमा पुर्‍याएको सहभागीहरूको धारणा थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link