Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

सिरान्चोक गाउँपालिकाले गर्यो ६८ करोड १५ लाखको बजेट विनियोजन, घरेलु उत्पादनको ब्राण्डिङदेखि विपन्न विद्यार्थीको शिक्षासम्म नीति सार्वजनिक

loading views..
Nepal Telcome

डि.बि. तामाङ/सिरान्चोक, असार १० गते। गोरखाको सिरान्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६८ करोड १५ लाख ८ हजार ९९ रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १६औं गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। उपाध्यक्ष रिता देवकोटाले अनुमानित बजेट विवरण पेश गरेकी थिइन्।

बहुआयामिक नीति र प्राथमिकता क्षेत्रहरू

पालिकाले कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटन, सहकारी, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, संस्कृति, भाषा, नवप्रवर्तन, पूर्वाधार, सिँचाइ, विद्युत, सडक, खानेपानी, सरसफाइदेखि न्याय, सूचना प्रविधि र विपद् व्यवस्थापनसम्मका बहु-आयामिक क्षेत्रहरूमा कार्य विस्तार गर्ने नीति अघि सारेको छ।

कृषिमा व्यावसायिकता र युवामैत्री कार्यक्रम

गाउँपालिकाले निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक प्रविधिमा रूपान्तरण गर्ने, एक वडा दुई कृषि स्रोत केन्द्र सञ्चालन गर्ने, एक वडा एक पकेट कार्यक्रम ल्याउने, फलफूल खेती विस्तार गरी आय आर्जनको स्रोत बनाउने नीति लिएको छ।

घरेलु मदिरा, जडीबुटी र अन्य स्थानीय उत्पादनको ब्राण्डिङ र बजारीकरणलाई प्राथमिकता दिँदै युवालाई उद्यमशील बनाउने ‘उद्यमी बनौं, स्वदेशमै केही गरौं’ नीति अघि सारिएको छ।

किसानको हक हितमा स्पष्ट योजना

किसानलाई प्रोत्साहन गर्न हाटबजारको व्यवस्था, कृषि मेला तथा उत्कृष्ट किसान सम्मान योजनाको घोषणा गरिएको छ। कृषिमा निशुल्क ढुवानी सेवा, उत्पादनको बजार खोजी तथा बाह्य तरकारीको गुणस्तर परीक्षणसमेत गम्भीरताका साथ अगाडि बढाइनेछ।

शिक्षा र सामाजिक समावेशीतामा जनमुखी हस्तक्षेप

विद्यार्थी केन्द्रित योजनाः

विद्यार्थीलाई दुर्घटना बीमा र दिवा खाजा कार्यक्रम,

आत्मरक्षा तालिम (छात्राहरूका लागि),

करेसाबारी कार्यक्रम,

प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन,

अभिभावकविहीन तथा अत्यन्तै विपन्न परिवारका बालबालिकालाई माध्यमिक तहसम्म पालिकाले नै पढाउने, साथै अभिभावक आयआर्जन कार्यक्रमसमेत सञ्चालन गर्ने नीति पनि अगाडि सारिएको छ।

न्यायिक पहुँच र सूचना प्रणालीमा सुधार

गाउँपालिकाले न्यायिक समितिको कार्य प्रभावकारी बनाउन सूचना व्यवस्थापन प्रणालीको विकास गर्ने, न्यायिक समितिबाट न्याय सम्पादनमा सरलता ल्याउने तथा जनताको न्यायमा पहुँच विस्तार गर्ने योजनासमेत समावेश गरेको छ।

स्वास्थ्य र सरसफाइमा सजगता

धुम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको प्रयोगमा निरुत्साहन, खानेपानी तथा स्वच्छताको गुणस्तर सुधार, सरसफाइ अभियान निरन्तरता लगायत नीति कार्यक्रमहरू सार्वजनिक गरिएका छन्।

खेलकुद र युवा सम्मान

गाउँपालिकाले खेलकुद विकासलाई पनि प्राथमिकता दिँदै, पालिकास्तरीय, जिल्ला तथा प्रदेशस्तरीय खेल प्रतियोगितामा सहभागिता जनाएका तथा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी खेलाडीलाई सम्मान गर्ने कार्यक्रम अघि सारेको छ।

वडागत बजेट विनियोजन विवरण

सिरान्चोक गाउँपालिकाले ८ वटै वडाहरूमा निम्नानुसार बजेट विनियोजन गरेको छः

वडा नं. १ : रु ५२ लाख २५ हजार

वडा नं. २ : रु ५४ लाख ७४ हजार

वडा नं. ३ : रु ५५ लाख ८५ हजार

वडा नं. ४ : रु ५५ लाख ५९ हजार

वडा नं. ५ : रु ५५ लाख ८० हजार

वडा नं. ६ : रु ५७ लाख ९५ हजार

वडा नं. ७ : रु ५३ लाख ८५ हजार

वडा नं. ८ : रु ६५ लाख ६० हजार

विकास, सामाजिक न्याय, समावेशीकरण र सशक्तिकरणको अवधारणामा आधारित सिरान्चोक गाउँपालिकाको यो नीति तथा कार्यक्रम स्थानीय जनताको हित र समृद्धिको दिशामा दूरगामी महत्वको रूपमा हेरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link