Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

भानु ३ मा सार्वजनिक सुनुवाई र एसइई उर्त्तीण विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

loading views..
Nepal Telcome

तनहुँ(भानु), असार २० गते । भानु नगरपालिका वडा नं ३ को आयोजनामा नागरिक गुनासो सार्वजनिक सुनुवाई तथा २०८१/०८२ सालको एसइई परीक्षामा सफलता प्राप्त गरेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तुल कुमार गुरुङले गर्नुभएको थियो भने भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको विशेष उपस्थिति रहेको थियो। वडा सदस्य एवं कार्यपालिका सदस्य प्रवीना थापा मगरले स्वागत मन्तव्य दिएकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत भण्डारीले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा अध्यक्ष गुरुङले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को योजना, बजेट र प्रगति विवरण प्रस्तुत गर्दै चालु वर्ष २०८२/०८३ का लागि प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटका विवरणसमेत सार्वजनिक गर्नुभयो।

सुनुवाई कार्यक्रममा पूर्ववडा अध्यक्ष दल नारायण श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्थाका पदाधिकारी लगायतले विकास निर्माण, कृषि अनुदान, शिपमूलक तालिमको छनोट, योजना प्राथमिकता, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा धारणा राखेका थिए।

धरादी आमा समूहकी पूर्व अध्यक्ष सरिता रानाले ऐतिहासिक ‘कविकेशरी तिर्थराज पाण्डे मोटर मार्ग’मा बजेट नपुगेको गुनासो गर्दै बजेट विनियोजनको माग गरिन्। अन्य सहभागीहरूले स्वास्थ्य, कृषि, खानेपानी, खेलमैदान घेराबार लगायतका स्थानीय समस्याको समाधानमा वडाको ध्यानाकर्षण गराए।

सोही अवसरमा भानु ३ बाट एसइईमा सफलता हासिल गरेका विद्यार्थीहरूलाई प्रमुख प्रशासकीय अधिकृत भण्डारी, वडा अध्यक्ष गुरुङ र पूर्व अध्यक्ष श्रेष्ठले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका थिए। उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूलाई पनि सम्मान गरिएको थियो।

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सार्वजनिक सुनुवाई कार्यक्रम नागरिक–प्रशासन सहकार्यको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै प्राप्त गुनासोलाई मूल्यांकन गरी सेवा सुधारमा उपयोग गरिने बताए।

कार्यक्रममा विभिन्न राजनीतिक दल, टोल विकास समिति, आमा समूह, क्लब, गुठी, विद्यालय, शिक्षक–अभिभावक संघ लगायत क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वडा कार्यालयले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै नागरिकको सुझाव र साथले भानु ३ लाई समृद्ध दिशातर्फ डो-याउने विश्वास व्यक्त गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link