Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

गोरखा सन्देश १८ वर्षमा प्रवेश, पत्रकारिता क्षेत्रमा योगदानको उच्च मूल्याङ्कन

loading views..
Nepal Telcome

गोरखा १२ साउन। गोरखा जिल्लाबाट निरन्तर रूपमा प्रकाशित हुँदै आएको साप्ताहिक पत्रिका हाम्रो गोरखा सन्देश १८ औँ वर्षमा प्रवेश गरेको छ। पत्रिकाको १८ औँ वार्षिकोत्सव भव्य रूपमा गोरखामा सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति गोरखाको सभाहलमा आयोजित कार्यक्रममा संस्थापक सम्पादक रामबाबु ढकालको अध्यक्षतामा गोरखा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा मगर प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि थापाले गोरखा सन्देश ले गोरखाको पत्रकारिता मात्र होइन, मुलधारका मिडियाका लागि पनि पत्रकार उत्पादन गर्ने थलोको रूपमा कार्य गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “कलेजमा पत्रकारिता पढ्ने विद्यार्थीहरू पत्रकार कहिले बन्छन् भन्ने थाहा हुँदैन, तर गोरखा सन्देश ले वर्षेनी नयाँ पत्रकार उत्पादन गरिरहेको छ, उनीहरूलाई स्थापित मिडियासम्म पु-याइरहेको छ।” लोकतान्त्रिक आन्दोलनपछिको पहिलो दर्ता पत्रिकाका रूपमा गोरखामा स्थापित गोरखा सन्देश ले सरकारी निकायमा रहेका विकृति र विसङ्गतिविरुद्ध निर्भीक रूपमा कलम चलाएको भन्दै उहाँले प्रशंसा गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकालले गोरखा सन्देश लाई गोरखाली पत्रकारहरूको ‘अभिभावक संस्था’ को रूपमा परिभाषित गर्दै समाजका यथार्थ र जायज विषय उठानमा यसको पहिचान फरक रहेको धारणा राख्नुभयो।

पत्रिकाका पूर्व सम्पादक राजेन्द्र न्यौपानेले गोरखा सन्देश को मूल उद्देश्य समाजमा व्याप्त विकृति, विसङ्गति र नाजायज राजनैतिक स्वार्थको अन्त्य गर्नु रहेको स्पष्ट पार्नुभयो। उहाँले वर्तमान समयलाई ‘मगज र सीप’ को युग बताउँदै नेतृत्वले पनि ज्ञान र दूरदृष्टिको स्तरमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा संस्थापक सम्पादक रामबाबु ढकालले गोरखा सन्देश को १८ वर्षे यात्रामा सघाउने सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी वर्षदेखि हरेक वर्ष “गोरखा सन्देश पत्रकारिता पुरस्कार” स्वरूप १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभयो।

वार्षिकोत्सव समारोहमा गोरखा जिल्लाका पत्रकार, विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
गोरखा र आसपासका क्षेत्रमा सुशासन, विकास र जनजीविकाका विषयलाई निरन्तर उठाउँदै आएको गोरखा सन्देश ले गोरखाली पत्रकारितालाई जीवन्त बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link