ज्योति लाइफको आइपिओ खुल्ने मिति परिवर्तन

ज्योति लाइफको आइपिओ खुल्ने मिति परिवर्तन

  • मंगलबार, फाल्गुन १८ २०७७

काठमाडौँ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते (शुक्रवार) देखि आईपीओ विक्री खुला गर्ने भएको छ। फागुन २३ गतेदेखि आईपीओ विक्रीको मिति गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशन पछि २१ गते नै विक्री खुल्ला गर्ने भएको हो।

अब कम्पनीको आइपीओ २ दिन अगावै फागुन २१ गते शुक्रबारदेखि निष्काशन हुनेछ। विक्री प्रबन्धक एनएमबि क्यापिटलले यस अघि नै आव्हान पत्र सार्वजनिक गरी मिति तय गरेपनि सिडिएससीको निर्देशनमा दोस्रो बजारको कारोबारलाई प्रभाव नपार्ने गरी शुक्रवारदेखि आईपीओ निष्कासन गर्न लागेको जानकारी दिएको छ। कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो।

सिडिएससीले प्राविधिक समस्या हुने भन्दै आईपीओ विक्री खुला गर्नको लागि उपयुक्त दिन शुक्रवारलाई लिएको छ। हाल दोस्रो बजारमा कारोबार पछिको राफसाफका लागि मेरो शेयर मार्फत नै इडीआईएस गर्नुपर्ने भएकाले कारोबारको पाँच दिन प्राविधिक समस्या आउँन सक्ने भन्दै सिडिएससीले शुक्रवारदेखि सार्वजनिक निष्कासनका लागि अनुरोध गर्दै आएको छ।

यस अघि महिला लघुवित्तको आईपीओ निष्कासनको मिति पनि सिडिएससीकै कारण परिवर्तन भएको थियो। कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो। कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी ५९ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो। यो आईपीओ विक्री गर्न कम्पनीले फागुन ७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

विक्री प्रबन्धकका अनुसार अव कम्पनीको आईपीओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहनेछ। यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। हाल प्राथमिक बजारमा १५ लाखभन्दा बढी लगानीकर्ताको आवेदन पर्दै आएकोमा छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्ने देखिन्छ।

लगानीकर्ताले सि-आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।  यस कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब कायम गर्न सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो। हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ निष्कासन पश्चात चुक्तापूँजी २ अर्ब २० करोड पुग्नेछ।

कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व आईपीओ पश्चात कायम हुनेछ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १० करोड ७८ लाख ७१ हजार खुद नाफा गरेको छ। गत वर्षको यस अवधिसम्म कम्पनीले ६ करोड ८९ लाख खुद नाफा गरेको थियो।

७४ हजार ७०३ बीमालेख कायम रहेको कम्पनीले दोस्रो त्रैमाससम्म ४ करोड ६३ लाख ७३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ भने ३ करोड १ लाख ४७ हजार दाबी भुक्तानी गरेको छ। कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ रहेको छ भने प्रतिशेयर आम्दानी १२ दशमलव ६५ छ। नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल भदौ १९ गतेदेखि कम्पनीले औपचारिक रुपमा कारोबार सुचारु गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.