Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

देवघाटमा प्रथम वाईसिएल नेपाल कप फुटबल प्रतियोगिता सुरु

loading views..
Nepal Telcome

देवघाट, २ भदौ ।योङ्ग कम्युनिस्ट लीग (वाईसिएल) नेपाल देवघाट गाउँकमिटिको आयोजनामा आइतबारदेखि “रिटर्नी सेन्टर प्रथम वाईसिएल नेपाल देवघाट कप” महिला फुटबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले गरे। उद्घाटन समारोहमा बोल्दै सापकोटाले वाईसिएलले सदैव समाजहितका गतिविधि गर्दै आएको उल्लेख गर्दै, महिलाको सशक्तीकरण र उत्थानका लागि माओवादी पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीले महिला फुटबल प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले देवघाट क्षेत्रबाटै राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भए पनि विकासमा पछाडि परेको उल्लेख गर्दै, यसप्रकारका गतिविधिले महिलाको क्षमतावृद्धिसँगै खेलकुद क्षेत्रमा चेतना जगाउने बताए।

देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिंह गुरुङले महिलाको तीजमा दर खाने संस्कृतिलाई मात्र जोड्ने होइन, क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए। गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अमर फेवालीले प्रतियोगिताले महिला सशक्तीकरणमा टेवा पुर्‍याउने बताए तर देवघाटमै खेलाडी उत्पादन गर्न नसकिएकोप्रति चिन्ता पनि व्यक्त गरे।

देवघाट महिला सञ्जाल वडा नं. ५ की नरिमाया सिंजालीले महिला फुटबलले खेलाडीलाई अनुभव बटुल्दै उत्कृष्ट बनाउन सक्ने विश्वास व्यक्त गरिन्। त्यस्तै, महिला सञ्जालकी अध्यक्ष राधा खनालले महिलाले आफ्नो प्रतिभा देखाउन समय–समयमा कार्यक्रम आवश्यक हुने बताउँदै, महिला पुरुषभन्दा कुनै पनि हिसाबले कम नभएको प्रस्ट पारिन्।

कार्यक्रम वाईसिएल देवघाट गाउँकमिटिका कार्यवाहक अध्यक्ष उमेश आलेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वाईसिएल केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज दुर्गालाल गुरुङले स्वागत मन्तव्य राखेका थिए।

प्रतियोगिताको पहिलो दिन मिलिजुली आमा समूह र सिर्जनशील आमा समूहबीच भएको खेलमा मिलिजुली आमा समूह विजयी भयो। त्यस्तै, एफ चितवन र खैरनी खेलकुद टिमबीच भएको प्रतिस्पर्धामा एफ चितवनले जित हात पारेको थियो।

यस प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link