Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पालुङटार, गण्डकी प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

सक्षम नेतृत्व, पारदर्शिता र जनसमर्पणको जित

loading views..
Nepal Telcome

गोरखा, ७ भाद्र। गोरखा जिल्लाको पालुङटार नगरपालिका गण्डकी प्रदेशमै उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा पालुङटारले नगरपालिकाको श्रेणीमा प्रदेशभित्र प्रथम स्थान हासिल गरेको हो।

माओवादी केन्द्रको नेतृत्वमा रहेको पालुङटारले निरन्तर दुई कार्यकालसम्म पारदर्शी र जनमुखी सेवा प्रवाह गर्दै आएको छ। यस उपलब्धिले पालुङटारलाई गण्डकीको समग्र मूल्याङ्कनमा पनि तृतीय स्थानमा पुर्‍याएको छ। गोरखाभित्र पालुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिकाले समान ८७.७५ अंक ल्याउँदै संयुक्त रुपमा प्रथम बनेका छन्।

नगर प्रमुख विवस चिन्तनले यस सफलतालाई नगरवासीहरूको साझा गर्वको विषय बताएका छन्। “नीति निर्माणदेखि कार्यान्वयनसम्म जनप्रतिनिधि, कर्मचारी र समुदायबीचको सक्रिय समन्वय र सहभागिताले यो सफलता सम्भव भएको हो,” उनले भने।

यस्तै, उपप्रमुख बन्दना पाण्डेले यो उपलब्धि महत्वपूर्ण भए पनि अझै गर्नुपर्ने धेरै काम बाँकी रहेको बताइन्। उनले भनिन्, “जनतालाई अझ सहज र पहुँचयुक्त सेवा पुर्‍याउन आगामी दिनमा थप योजनाबद्ध पहल आवश्यक छ।”

नगरपालिकाले सुशासन, सेवा प्रवाहको गुणस्तर, नागरिक सहभागिता र संस्थागत क्षमता विकासमा निरन्तर सुधार गर्दै आएको र यो उपलब्धिलाई अझ स्थायी र प्रभावकारी बनाउन चुनौती रहने जनाएको छ। नगर प्रमुख चिन्तनले सम्पूर्ण नगरवासी, कर्मचारी, जनप्रतिनिधि र सहयात्रीहरूलाई धन्यवाद दिँदै भविष्यमा अझ उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link