Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

मुस्ताङ भन्सार पुनः सञ्चालनमा

loading views..
Nepal Telcome

पोखरा। गत भदौ ३१ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आएको उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालय दसैँका बिदापछि हिजोदेखि पुनः सञ्चालनमा आएको छ। असोज १३ गतेदेखि दसैँ मनाउन कर्मचारी घर फर्किएपछि कार्यालय बन्द रहेको थियो।

भन्सार प्रमुख रमेश खड्काका अनुसार, अहिले कार्यालय खुले पनि निकासी तथा पैठारीकर्ताका अधिकृत प्रतिनिधि उपस्थित नहुँदा मालवस्तु जाँचपासलगायतका काम अझै सुरु हुन सकेका छैनन्। दसैँको बिदा अवधिमा चीनबाट आयात भएका विभिन्न मालवस्तु र विद्युतीय कारहरू न्हेचुङ भन्सारमा जाँचपासका प्रतीक्षामा रोकिएका छन्।

उनका अनुसार नाकाबाट आयात गरिएका मालवाहक सवारीसाधन र विद्युतीय कारहरूको थुप्रो लागेको सूचना प्राप्त भएको छ। दसैँअघि कोरलानाका भन्सारबाट दुई अर्ब दुई करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। सो अवधिसम्म भित्रिएका १ हजार १०९ वटा विद्युतीय कारमध्ये ९६५ वटाको भन्सार जाँचपास भई गन्तव्यमा पुगिसकेका छन्।

त्यसैगरी, चीनबाट आयात भएका ३७५ वटा मालवाहक सवारीसाधनको पनि जाँचपास सम्पन्न भएको भन्सार कार्यालयले जनाएको छ।

यसअघि यहाँको मुस्ताङ भन्सार कार्यालय केवल उपल्लो मुस्ताङका नागरिकका लागि मात्र खुला रहँदा सीमित राजस्व संकलन हुने गरेको थियो। तर, गत साउन र भदौ महिनामा रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि भन्सार विभागले कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोगमा ल्याएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link