Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अध्यक्ष ढकाललाई कोशेली, धादिङको एक डाली मास !

loading views..
Nepal Telcome

पोखरा। चोयाले बुनेको चिटिक्कको डाली । अनि डालिभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर काठमाडौँ भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ यहाँको मास र गेडागुडी ।

धादिङको नीलकण्ठ नगरपालिकामा बिहीबार आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएको जिल्लाको यो रैथाने उत्पादनको जिल्लामा निकै चर्चा भयो । धादिङ जिल्ला उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रूपमा अतिथिलाई डालीभरि मास दिएपछि अतिथिहरु आश्चर्यमा पर्नुभयो र जिल्लाका मिडियामार्फत् बिहीबार एक डाली मासको चर्चा पनि चल्यो ।

कार्यक्रमको आयोजक थियो जिल्ला उद्योग वाणिज्य संघ, धादिङ र प्रमुख अतिथि हुनुहन्थ्यो नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल । अनि प्रसंग थियो सङ्घको ३२ औँ वार्षिक साधारणसभा समारोह ।

कार्यक्रम सकियो, अतिथिहरुको विदाइका तरखर सुरु भयो । अतिथिहरुलाई मायाको चिनो प्रदान गर्ने क्रममा डालिभरि मास लिएर आउनुभयो जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी। परैबाट के होला कोशेली भनेर छुट्याउन नसकेपनि नजिकै उपस्थित हुनेहरुले थाहा पाए मास भनेर ।

प्रमुख अतिथि ढकाल लगायत त्यहाँ उपस्थित अन्य विशिष्ट अतिथिहरुले खुसी र श्रद्धापूर्वक धादिङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरेलगत्तै कार्यक्रमस्थलमा सुरु भएको थियो मासको महत्वको चर्चा । धादिङमा ठूलो मात्रामा मासको उत्पादन हुने गर्दछ र यहाँको मासको चर्चा देशका अरु जिल्लाहरुमा पनि हुने गर्दछ ।

यस्ता समारोह तथा कार्यक्रमहरुमा मायाको चिनोका रुपमा प्रायः आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा सङ्घले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिन, मुलुकका उद्योगी व्यवसायीहरुका नेता ढकालमार्फत् आफ्नो स्थानीय उत्पादनको प्रवर्धन गर्न तथा धादिङको मासको देशव्यापी प्रचार गर्न यो उपहार दिएको अध्यक्ष डल्लाकोटीले बताउनुभयो ।

सो उपहार प्राप्त गरेपछि अध्यक्ष ढकालले आफू सदैव स्वदेशी उत्पादनको प्रवर्धन गर्न, रैथाने एवं स्थानीय वस्तुहरुलाई उचित बजारको प्रवन्ध गर्न तथा स्वदेशी उत्पादनमार्फत् आयात प्रतिष्थापन गरी निर्यात प्रवर्धन गर्न लागि परेकाले यस्ता उपहारहरु र तिनको प्रचारबाट निकै खुसी हुने धारणा पनि राख्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो “यो उपहारले प्लास्टिकजन्य सामग्रीबाट बन्ने झोला आदिका ठाउँमा चोयाको डालीले काम गर्छ र नेपालमा प्लास्टिकका वस्तुहरुले स्थानीय बाँस, निगालोको चोयाबाट बन्ने डाली, डोका आदि सामग्रीहरु विस्थापित भइरहेका बेला तिनको प्रयोग र संरक्षणको सन्देश पनि डालीले दिन सक्छ भन्ने मलाई लाग्दछ ।”

यसअघि पनि उहाँलाई यसैगरी जिल्लाका उद्योगी व्यवसायीहरुले स्थानीय उत्पादनको प्रवर्धन हेतु यस्तै स्थानीय एवं रैथाने उत्पादनहरु उपहारस्वरुप प्रदान गर्ने गरेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link