Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

पूर्व सीडीओ छवि रिजाल पक्राउ : गृह प्रशासनको सेटिङ नेटवर्क खुल्ने संकेत

loading views..
Nepal Telcome

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेसँगै गृह प्रशासनभित्रको विवादित सरुवा–पोस्टिङ र शक्तिकेन्द्रित सेटिङबारे पुनः बहस सुरु भएको छ।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई नियन्त्रणमा लिएपछि उनीमाथि लागेको भ्रष्टाचार, प्रशासनिक दुरुपयोग तथा आन्दोलन दमनसम्बन्धी आरोपहरू पुनः सार्वजनिक चासोको विषय बनेका छन्।
रिजाल जेनजी आन्दोलन भएको समयमा काठमाडौंका सीडीओ थिए। सो आन्दोलनका क्रममा २३ भदौमा आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिएको आरोप उनीमाथि लाग्दै आएको छ। उक्त घटनाले त्यतिबेला व्यापक विवाद र आलोचना निम्त्याएको थियो।
सीडीओ बन्नुभन्दा अघि रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। त्यही समय कर्मचारीहरूलाई अध्यागमन तथा अन्य आकर्षक कार्यालयमा पठाउँदा पेशागत आचरण विपरीत काम गरेको र सरुवा–पोस्टिङमा सेटिङ भएको आरोप लाग्दै आएको थियो।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा पठाएको विवरणमा रिजालमाथि छानबिन भइरहेको उल्लेख छ। अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँगको अस्वाभाविक गतिविधि र डायरी विवरणहरू समेत अध्ययन भइरहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार यो प्रकरण केवल एक व्यक्तिको गिरफ्तारी मात्र नभई गृह प्रशासनभित्र रहेको सम्भावित शक्ति–सञ्जाल र सरुवा–पोस्टिङको चलखेल उजागर हुने दिशातर्फ अघि बढेको संकेतका रूपमा पनि हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यदि अनुसन्धान निष्पक्ष रूपमा अगाडि बढेमा गृह प्रशासनभित्र वर्षौंदेखि मौन रूपमा चल्दै आएको प्रभाव, पहुँच र पैसाको खेल सार्वजनिक हुन सक्ने सम्भावना रहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link