काठमाडौं । डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ बीच भएको शिष्टाचार भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा महत्वपूर्ण सहमति भएको छ।
भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा विस्तृत छलफल भएको थियो। सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मित्रवत् र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
उनले एक चीन नीति प्रति नेपालको अडिग प्रतिबद्धता पुनः दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट धारणा राखे। साथै व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति र कनेक्टिभिटी विस्तारमा सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याए।
सभामुख अर्यालले बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) कार्यान्वयनलाई गति दिनुपर्नेमा जोड दिँदै सन् २०२२ डिसेम्बर १२ मा नेपालको प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारीलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।
राजदूत माओमिङले नेपाल–चीन सम्बन्ध आपसी सम्मान, सहअस्तित्व र असल छिमेकी भावनामा आधारित रहेको उल्लेख गर्दै सि जिनपिङ को सन् २०१९ को नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।
उनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै एक चीन नीतिप्रति नेपालको स्पष्ट अडानको प्रशंसा गरे। साथै दुवै देशका संसद्बीच अनुभव आदानप्रदान, उच्चस्तरीय भ्रमण तथा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै संघीय संसद सचिवालयलाई विद्युतीय सवारी साधन सहयोग गरिएको जानकारी दिए।
राजदूत माओमिङले सभामुख, सांसद तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको औपचारिक निम्तो समेत दिएका छन्।





