गोरखा, असार । पालुङटार नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ वडा नं. ६ भोटेकाटेस्थित गाईखुर स्वास्थ्य चौकीमा नगरस्तरीय आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ। सोमबार आयोजित एक समारोहबीच नगरप्रमुख विवश चिन्तनले अस्पतालको उद्घाटन गरेका हुन्।
अस्पताल उद्घाटन गर्दै नगरप्रमुख चिन्तनले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको प्रतिबद्धता थप बलियो बनेको बताए। स्थानीय तहको प्रमुख जिम्मेवारी नागरिकलाई आधारभूत सेवा प्रदान गर्नु रहेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे। अस्पताल सञ्चालनमा आएसँगै नगरवासीले आफ्नै क्षेत्रमा निःशुल्क तथा सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रमकी विशेष अतिथि तथा नगर उपप्रमुख बन्दना पाण्डेले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको बताउँदै अस्पतालको प्रभावकारी सञ्चालनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।
त्यसैगरी वडा नं. ६ का अध्यक्ष चेत बहादुर गुरुङले वडा र नगरपालिकाको समन्वयमा स्वास्थ्य सेवा विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा अस्पताल उद्घाटनलाई व्याख्या गर्दै यसले स्थानीय नागरिकको स्वास्थ्य पहुँचमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
अस्पताल उद्घाटनसँगै नगरस्तरीय आधारभूत अस्पतालमार्फत स्थानीय नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य औपचारिक रूपमा सुरु भएको छ। विशेषगरी ग्रामीण भेगका नागरिकले अब आधारभूत स्वास्थ्य सेवा आफ्नै क्षेत्रबाट प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। स्वास्थ्य सेवाको विकेन्द्रीकरण र नागरिकको सहज पहुँच सुनिश्चित गर्ने दिशामा यो कदमलाई पालुङटार नगरपालिकाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।




