Skip to content
Pokharapress Logo
९ असार २०८३, मंगलवार

नयाँ सुरक्षा विशेषतासहितको ५०० रुपैयाँको नोट चलनचल्तीमा

loading views..
Nepal Telcome

काठमाडौं, ४असार ।नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहितको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकले नयाँ नोटको प्रचलनसँगै मुलुकको मुद्रा प्रणालीमा थप सुरक्षित र आधुनिक नोटको प्रयोग सुरु भएको जनाएको छ। नयाँ नोटको आकार, रंग तथा मूल डिजाइन पुरानै नोटसँग मिल्दोजुल्दो रहे पनि सुरक्षा विशेषता, सिरिज संरचना र पहिचान प्रणालीमा महत्वपूर्ण सुधार गरिएको बैंकले जनाएको छ।

हाल जारी गरिएको नयाँ नोटका संकेत नम्बर ‘झ ३८ ०००००१’ देखि ‘ट ८३ ९९९९९९’ सम्म रहेका छन्। नेपाली नोट प्रणालीअनुसार प्रत्येक अक्षर समूहअन्तर्गत ०००००१ देखि ९९९९९९ सम्म करिब १० लाख थान नोट छापिने व्यवस्था रहेकाले नयाँ सिरिजअन्तर्गत झन्डै ३० लाख थान नोट बजारमा प्रवेश गरेको राष्ट्र बैंकको भनाइ छ।

यससँगै २०७८ पुस ९ गतेदेखि चलनचल्तीमा रहेको २०२० सिरिजका ५०० रुपैयाँ दरका नोटलाई क्रमशः प्रतिस्थापन गर्ने प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटमा राष्ट्रिय पहिचान र अत्याधुनिक सुरक्षा प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ। नोटको अग्रभागको बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र राखिएको छ भने दायाँतर्फ नेपालको राष्ट्रिय फूल लालीगुराँसको पानी छाप समावेश गरिएको छ। नोटको तल्लो भागमा ‘२०८२ सिरिज’ उल्लेख गरिएको छ।

दृष्टिविहीन तथा कम दृष्टि भएका व्यक्तिहरूलाई नोटको मूल्य पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले पानी छापको बायाँतर्फ दुईवटा काला थोप्ला राखिएको छ, जसलाई स्पर्श गरेर मूल्य पहिचान गर्न सकिने व्यवस्था गरिएको छ।

नोटमा थप सुरक्षा सुनिश्चित गर्न सगरमाथाको चित्र नजिक अण्डाकार आकृतिभित्र कुबेरको चित्र समावेश गरिएको छ। उक्त चित्रको रंग प्रकाशको कोणअनुसार परिवर्तन हुने विशेषता रहेको छ। सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने यो प्रविधिले नक्कली नोट नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

त्यसैगरी, नोटमा ३.५ मिलिमिटर चौडाइको विशेष सुरक्षण धागो प्रयोग गरिएको छ, जसको रंग पनि प्रकाशअनुसार परिवर्तन हुने खालको छ। नोटको पछिल्लो भागमा नेपालको जैविक विविधताको प्रतीकका रूपमा पाटे बाघको चित्र समावेश गरिएको छ।

राष्ट्र बैंकले नयाँ नोट केवल कारोबारको माध्यम मात्र नभई राष्ट्रिय पहिचान, आधुनिक सुरक्षा प्रविधि तथा समावेशी वित्तीय पहुँचलाई सुदृढ बनाउने उद्देश्यका साथ सार्वजनिक गरिएको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link