काठमाडौं, १७असार । साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा स्थान पक्का गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो ।
खेलको ४५औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए भने ५३औं मिनेटमा ब्राडली बारकोलाले थप गोल गर्दै अग्रता दोब्बर बनाए । ७४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पुर्याए । खेलको अधिकांश समय फ्रान्स हाबी देखियो ।
यस खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा लियोनल मेसीसँग बराबरी गरेका छन् । दुवै खेलाडीले हालसम्म समान ६–६ गोल गरेका छन् ।




