Skip to content
Pokharapress Logo
७ भाद्र २०८३, आईतवार

कांग्रेसभित्र पुरानै गुटबन्दी नयाँ रूपमा, देउवा-कोइराला मिलेर गगनलाई घेराबन्दी

loading views..
Nepal Telcome

पोखरा,३०साउन। नेपाली कांग्रेसभित्र वर्षौंदेखि आमनेसामने रहेका शेरबहादुर देउवा र कोइराला समूह अहिले एकै ठाउँमा उभिएर सभापति गगन थापाको नेतृत्वलाई चुनौती दिन थालेका छन्। विशेष महाधिवेशनमार्फत थापा सभापति निर्वाचित भएपछि र निर्वाचन आयोगले सोही नेतृत्वलाई मान्यता दिएपछि, पार्टीको मूलधारबाट किनारा लागेको देउवा-कोइराला खेमाले काठमाडौंमा ठूलो राष्ट्रिय भेला आयोजना गरेर आफ्नो शक्ति देखाउने प्रयास गरेको छ।

भेलाको नाम एकताका लागि राखिए पनि मञ्चबाट बोलिएका कुराहरूले भने विशेष महाधिवेशनको वैधताप्रति खुलेर असन्तुष्टि पोखिएको देखियो। एक समय थापासँगै राजनीति गरेका कृष्णप्रसाद सिटौलाले पनि यसपटक उनको नेतृत्व स्वीकार्न नसकिने बताउँदै विशेष महाधिवेशन अवैधानिक भएको आरोप लगाए र थापालाई निर्णय पुनर्विचार गर्न सुझाव दिए।

झन् तीखो प्रतिक्रिया विमलेन्द्र निधिको रह्यो, जसले देउवालाई अझै पनि कांग्रेसको वैधानिक सभापति भन्दै त्यसैलाई कार्यकर्ताको साझा सन्देश बनाउन आग्रह गरे। यसबाट स्पष्ट हुन्छ अहिले कांग्रेसमा असन्तुष्टि मात्र होइन, नेतृत्वकै दाबीलाई लिएर दोहोरो द्वन्द्व चलिरहेको छ। एकातिर गगन थापालाई वैधानिक सभापति मानिँदै छ भने अर्कोतिर देउवा पक्षले उनैलाई हालको सभापति भनी दाबी गरिरहेको छ।

पूर्वमहामन्त्री शशांक कोइरालाले भने भेलालाई पार्टी एकताको प्रयासका रूपमा व्याख्या गरे र देउवाप्रति आफ्नो निष्ठा दोहोर्‍याए। तर उनको एकताको भाषणसँगै मञ्चबाट लगातार सुनिएका गगनविरोधी अभिव्यक्तिले वास्तविक उद्देश्यमाथि प्रश्न उठाएको छ।

देउवा स्वयंले भने न्यायालयप्रति विश्वास व्यक्त गर्दै विवाद अदालतमार्फत टुंगिने आशा गरे, साथै पार्टी एकताका लागि संवादको खाँचो औंल्याए। यसैबीच पूर्णबहादुर खड्काले कांग्रेस टुक्रिए मुलुकमा ठूलो संकट आउने चेतावनी दिए भने शेखर कोइरालाले नेतृत्वको निरंकुशता स्वीकार्य नहुने बताए। विजय गच्छदारले विगतको विभाजन सम्झँदै पार्टी फेरि उही बाटोमा जाने जोखिम रहेको संकेत गरे।

कुनै बेला एकअर्काका प्रतिस्पर्धी रहेका देउवा र कोइराला समूहको यो एकता विचारगत भन्दा बढी अस्तित्व जोगाउने राजनीतिक बाध्यताजस्तो देखिन्छ। भेलाले विवाद सल्टाउनुको सट्टा कांग्रेसभित्रका दुई शक्ति केन्द्रबीचको खाडललाई अझ छर्लंग पारेको छ, र आगामी १५औँ महाधिवेशनअघि नै नेतृत्वको वैधताको प्रश्न पार्टीभित्र थप तातिने संकेत देखिन्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link