Skip to content
Pokharapress Logo
८ भाद्र २०८३, सोमबार

प्रचण्डलाई साझा नेता मान्न सकिन्छ:गुणराज

प्रचण्ड सम्पुर्ण कम्युनिष्ट घटकहरुको सर्बमान्य नेता

loading views..
Nepal Telcome

काठमाडौँ,८ भदौ। गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको प्रमख निसानामा नेपालका कम्युनिस्ट नामधारी वामपन्थी पार्टीहरू सबैभन्दा बढी परे।

भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि बर्बरतापूर्ण गोली प्रहार गरी २३ जनाको हत्या गरेको आरोप केपी शर्मा ओली नेतृत्वको तत्कालीन गठबन्धनर सरकारलाई लाग्यो। जेनजी हत्याविरुद्ध भदौ २४ गते भएको विध्वंसका कारण देशले अकल्पनीय क्षति बेहोर्‍यो।

त्यतिबेला संसदको सबैभन्दा ठुलो वामपन्थी दलको नेतृत्वमा बनेको सरकार भएकाले विध्वंसको प्रमुख दोषी ओली अध्यक्ष रहेको नेकपा एमालेले लिनुपर्ने थियो। तर कलंकको टिका सम्पूर्ण वामपन्थीहरूको निधारमा लाग्यो। त्यसलाई पुष्टि गर्ने आधार फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामपन्थी पार्टीहरूले पाएको इतिहासकै ठुलो धक्कालाई लिन सकिन्छ।

विश्वभर विघटनको अवस्थामा पुगेको वामपन्थी पार्टीहरू जेनजी आन्दोलनपछि नेपालमा पनि रक्षात्मक अवस्थामा पुगेका छन्। २०६५ सालमा ६५ प्रतिशत जनमत रहेको वामपन्थीहरू संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्षमा कहाँ चुक्यो भन्ने बहस चलेको छ। निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी ओली–प्रचण्डले लिनुपर्ने एमाले र नेपाली कम्युनिस्ट पार्टीमा तीव्र रूपमा उठेको छ। यी दुवै पार्टीमा पुनर्गठन माग राखेर रुपान्तरण पक्षधरले नेतृत्वमाथि दबाब बढाएका छन्।

पार्टीभित्र दबाब झेलिरहेका ओली र प्रचण्ड आत्मालोचना गरी विगतका गल्तीका गम्भीर समीक्षा नगरी फेरि प्रदेशमा सत्ता सहकार्यको प्रस्तावमा सहमति गरेकोमा विवाद बढ्दै गएको छ। मूलतः वामपन्थी आन्दोलनलाई रिस्टक्चरिङ गरी पार्टी पुनर्गठन गर्न ओली र प्रचण्डले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिइएको छ।

कमजोर भएको पार्टी संगठन अब रेट्रोफिट (प्रबलीकरण) गरेर अगाडि बढ्न नसक्ने निष्कर्षमा वामपन्थीहरू पुगेका छन्। पुरानै गल्ती दोहोर्‍याए नेपालमा वामपन्थी आन्दोलन डिससोलुसन (विघटन) बाट रोक्न कसैले नसक्ने राजनीतिक वृत्तमा चर्चा छ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक प्रचण्डले खासगरी २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात आफूले गल्ती गरेको स्वीकार गरे। आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रचण्डले सत्ता समीकरण बनाउने र भत्काउने गोलचक्करमा अल्झिँदा कम्युनिस्ट आन्दोलन कमजोर भएको उनको भनाइ छ।

‘हामी बढी कार्यनीतिमा अल्झियौ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो। हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो,’ प्रचण्डले भने, ‘त्यसको प्राप्तिका निम्ति कार्यनीति बनाएर अघि बढ्दा जनयुद्धमा सफल भए पनि अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा चक्करमा फस्यौँ। तर विरोधीहरूले कम्युनिस्टहरूलाई कसरी सखाप पार्ने भनेर रणनीति बनाएका रहेछन्, हामी त्यसमा चुक्यौँ।’

एमाले र नेकपा मसालसँग भएको तीन बुँदे सहमतिको बचाउ गर्दै प्रचण्डले वामपन्थी आन्दोलनलाई फेरि एकीकृत गरी समाजवादी आन्दोलन अगाडि बढाउन उद्देश्य रहेको जिकिर गरे। उनले देश सुगौली सन्धियताकै सबैभन्दा संकटमा परेकाले सम्पूर्ण वामपन्थी, देशभक्त शक्तिहरूलाई आन्दोलनका लागि तयार रहन अपिल गरे।

कार्यक्रममा पूर्वमन्त्री तथा एमालेका नेता प्रदिप ज्ञवालीले राष्ट्रियता संकटमा रहेकाले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। वामपन्थीहरूबिच सहकार्य र एकताका लागि पाँच आधार उनले प्रस्तुत गरे।

देश कूटनीतिक डिजास्टरतर्फ जाने खतरा देखिएकाले राष्ट्रियता रक्षा गर्न सबै कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिहरू एकजुट हुनसक्ने उनले स्पष्ट पारे।

लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएको संविधानलाई समाप्त पार्न सरकार लागेको उनको आरोप छ। संविधानलाई चलाइएमा ठुलो आन्दोलन हुन सक्ने र त्यसको क्षति सरकारले थेग्न नसक्ने ज्ञवालीको तर्क छ।

अहिलेको खुला परिवेशलाई सरकारले सङ्कुचनतर्फ धकेल्न खोजिएको उनले आरोप लगाए। त्यसको रक्षाका लागि एकता हुनसक्छ ज्ञवालीको भनाइ छ।

जनजीविकाको समस्या आज गम्भीर भएको उनको भनाइ छ। ग्यास नपाएर सहरी उपभोक्ताको बिजोग देखिएको, सुकुमबासीलगायत अन्य धेरै मुद्दा छन्। यी मुद्दामा कम्युनिस्ट नजोडिने हो भने उपादेयता के हुन्छ भनी ज्ञवालीले प्रश्न गरे।

राजनीतिक पार्टीहरूलाई विस्थापित गर्नका निम्ति बिस्तारै समाजमा जातीय, भाषिक द्वन्द्वतर्फ धकेल्ने प्रयास भएको ज्ञवालीको आरोप छ। राजनीति कमजोर भयो भने त्यस्ता चिजहरू अगाडि आउँछन् भनेर अराजकतावादीहरू लागि परेको उनको भनाइ छ।

नेपाल कम्युनिस्ट पार्टीकी संयोजक उमा भुजेलले देश संकटमा परेकाले सबै वामपन्थी दलहरूबिच एकता र सहकार्य हुनुपर्नेमा जोड दिइन्। अहिले कम्युनिस्ट शक्तिहरू रक्षात्मक अवस्थामा रहेकाले राष्ट्रियताको रक्षाका लागि एकजुट हुन उनले आग्रह गरिन्।

‘६५ प्रतिशत रहेको कम्युनिस्ट २१ प्रतिशतमा झरेको छ। कम्युनिस्ट पार्टीलाई सिध्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेका छन्। गर या मरको अवस्थामा रहेको आन्दोलनलाई बचाउन सम्पूर्ण कम्युनिस्ट पार्टीहरूबिच एकता, सहकार्य हुनुपर्छ,’ उनले भनिन्।

नेकपा बहुमतका नेता गुणराज लोहनीले विगतका भएका कमजोरी साच्चै नै स्वीकारेको हो भने पार्टी एकता गर्न आफू तयार रहेको स्पष्ट पारे। ‘यदि उहाँ(प्रचण्ड)ले विगतमा गल्ती हृयददेखि नै स्वीकारेका भए हामी पार्टी एकता गर्न तयार छौँ । उहाँको केही बोलाइबिच चिप्ल्याइ हुन्छन्। आलिसान महल छाडेर सर्वहारा भएमा प्रचण्डलाई नेता मान्न तयार छौँ,’ उनले भने।

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य रामबहादुर बुढाले विगतका गल्तीको गम्भीर समीक्षा गरी वामपन्थीबिच एकता र सहकार्य हुनुपर्नेमा जोड दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link