गोरखा । गोरखा नगरपालिका–८ का कृष्णबहादुर के.सी गएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भए । पाँच बर्षको कार्यकालमा जिम्मेवारीमा रहँदा उनी कहिल्यै पनि बिबादित बनेन्, नत वडाबासी जनताको त्यति धेरै असन्तुष्टी र गुनासो नै छ निवर्तमान वडाध्यक्ष के.सीसँग । पछिल्लो समय राजनीतिलाई सेवाभन्दा पेशा ठान्ने र राजनीतिलाई कमाउने बाटो बनाउने प्रबृति बढी रहेका बेला निबर्तमान वडाध्यक्ष के.सी भने राजनीतिसंगै अकलामाई पशुपन्छी तथा पोल्ट्री फर्म सञ्चालन गरी व्यवसायिक कुखुरा पालन सुरु गरेर मनग्य आम्दानी गर्न थाल्नु भएको छ ।
जागिरे जीवनबाट अबकास लिएपछि बाँकी जीवन थप उर्जाशिल बनाउन उनी समाजसेवाका लागी राजनीति र आर्थिक व्यवस्थापनका लागी व्यवसायिक कुखुरा पालन पेशाको रुपमा अगाल्न पुगेका हुन्। आर्थिक हिसावले त्यति धेरै समस्या नरहे पनि जीवनलाई सार्थक र सर्घषशिल बनाउन रुचाउनु उनले राजनीतिसँगै गएको झण्डै ४ बर्षदेखि व्यवसायिक कुखुरा पालन गर्दै आएका छन् । करिब ९४ लाख रुपैयाको लगानीमा के.सीले ७ रोपनी क्षेत्रफल भएको आफ्नै जग्गामा खोर निर्माण गरी लेयर्स जातको कुखुरा पालन गर्दै आएका हुन।
गएको बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि काग्रेसबाट वडाध्यक्षको उमे्दवार रहेका उनी ३ मतले पराजित भए। ‘प्राबिधिक कारणले निर्वाचनमा पराजित भएँ तर मलाई कुनै गुनासो र पछुतो छैन, के.सीले भने, ‘बाहिर बसेर पनि समाज सेवा गर्न पाएकै छु , सामाजिक कामसँगै आफ्नो व्यवसायमा पनि अलि धेरै समय दिन पाउदा झनै सहज पनि भएको छ ।’ हरेक दिनबिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुगेर अण्डा टिप्ने, दाना हाल्ने, औषधी खुवाउने काममा आफु व्यस्त हुने गरेको उहाँ बताउनुहुन्छ ।
निवर्तमान वडाध्यक्ष के.सीले ५/५ हजार वटा कुखुरा अटाउन सक्ने क्षमताका दुईवटा खोर निर्माण गरेर कुखुरा पालन गदै आएका हुन । ‘एउटा खोरमा ५ हजार कुखुरा हालेपछि त्यसले झण्डै ५ महिनापछि अण्डा दिन थाल्छ, एक लटको कुखुराले करिब २बर्षसम्म अण्डा दिन्छ, उनले भने, बजारमा उत्पादन पठाउन खाली नहोस् भनेर एउटा खोरको कुखुराले अण्डा दिन सुरु गरेको करिब ८ महिनापछि अर्को खोरमा पनि कुखुराको चल्ला हाल्न सुरु हुन्छ ।’
‘कहिले कहिले बाहिर धेरै तनाव भयो भने पनि फर्म छिरेपछि सवै तनाव सबै हराउँछ, उनले भने, फर्मबाट आर्थिक आयआर्जन राम्रो मात्र भएको छैन, खोर भित्र राखिएको बाँसबाट बनाएको गुँडभरी कुखुराले अण्डा पारेको हेर्न पाएपछि तनाव भन्नेकुरा नै बिर्सिन पुग्छु ।’ अण्डा उत्पादन सुरु भएपछि दैनिक रुपमा कहिल्यै पनि पैसाको अभाव नहुने गरेको उहाँ बताउनुहुन्छ । ‘अण्डा उत्पादन हुन थालेपछि पैसा कमाउने पेशा भनेको यहीँ मात्र रहेछ भन्ने जस्तो लाग्छ, के.सीले भन्नुभयो, बजारमा पुगेपछि पैसा आइहल्छ, बरु बजार भाउमा भने अहिले केही कमी आएको छ ।’पछिल्लो पटक आफ्नो फर्ममा दैनिक ३ हजार भन्दा बढी अण्डा उत्पादन हुने गरेको उनले बताय । उत्पादित अण्डा बिक्रीका लागि बजारको कुनै समस्या नभएको निवर्तमान वडाध्यक्ष के.सीको भनाई छ । ‘उत्पादित अण्डा स्थानीय सप्लायर्स मार्फत बजारमा पठाउने गरिएको छ, उनले भने , दैनिक ३८ हजार रुपैयाँको कारोवार हुन्छ ।’ व्यवसाय सञ्चालनसंगै परिवारका ४ सदस्य बाहेक थप ३ जनालाई रोजगारी समेत दिन सकेकोमा उनी दंग छन्।
अकलामाई पशुपन्छी तथा पोल्ट्री फर्म
‘व्यवसाय सुरू गर्नका लागी आफुसँग पर्याप्त रकम नभएपनि कृषि बिकास बैंक गोरखा शाखाबाट ऋण लिएर कुखुरा पालन सुरुगरेको हो, उनले भने, लेयर्स जातको कुखुरा पालन गर्दा पाँच महिनासम्म उत्पादन नदिने हुदाँ लगानी मात्र गर्नुपर्ने भएकाले पनि उक्त अबधिमा खर्च व्यवस्थापन गर्न अलि गाह्रो हुन्छ, तर उत्पादन दिन थालेपछि दैनिक कारोवार भएकाले खासै समस्या छैन ।
उत्पादित अण्डा बिक्रिबाट मासिक करिब ११ लाख ७८ हजार रुपैयाँको कारोबार हुने गरेको के.सीले जानकारी दिए । आम्दानी र खर्चको हिसावमा मासिक २ लाख ५० हजार भन्दा बढी नाफा हुने गरेको उनले बताए । ‘व्यवसायिक रुपमा काम गर्ने इच्छाशक्ति भए पैसा कमाउन बिदेश नै जानुपर्छ भन्ने छैन, उनले भने, गरेमा यहीँ सवैथोक हुन्छ र सम्भव पनि छ ।’