पोखरा।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गाउँमा विकास पुगे पनि जनता शहर पसेकोमा चिन्ता व्यक्त प्रकट गर्नुभएको छ।रुपा गाउँपालिकाको वडा नं. ३ पोल्याङको झोलुङ्गे पुलको उद्घाटन गर्दै अधिकारीले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो। पोल्याङ र टाकंजा जोड्ने सो पुलको उद्घाटन कार्यक्रममा अधिकारीले भन्नुभयो, ‘गाउँमा विकास त भइरहेको छ, तर जनता शहर झर्ने क्रम रोकिएन ।’ गाउँमै काम गर्ने वातावरण हुँदाहुँदै पनि बजार नझर्न अधिकारीले अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा सोही वडाका अध्यक्ष दिपेन्द्र गौतमले झोलुङ्गे पुलले टाकंजा र पोल्याङको दूरी घटाउँदै जनताको दैनिक जीवनलाई सहज बनाएकोमा खुसी व्यक्त गर्नुभयो । आफूहरु जनताको सेवामा निरन्तर लागि परेको र जनताले पनि योजना निर्माण र सम्पन्न गर्न साथ दिएको गौतमको भनाई थियो ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरीता कुमाल, रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ्ग लगायतले विकास निर्माणबारे आफ्नो धारणा राख्नु भएको थियो ।