Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

नेपालमा लगानीको वातावरण बन्दै गएको छ ः अध्यक्ष ढकाल राष्ट्रिय समाचार समिति (रासस)

loading views..
Nepal Telcome

जेठ ३०, काठमाडौँ। उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएकाले नेपालमा लगानी गरेर मुनाफा लिन विश्वका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी ११२ औँ अन्तराष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताउनुभएको हो ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी सो सम्मेलनमा नेपालका रोजगारदाताहरुको प्रतिनिधत्व गर्दै अध्यक्ष ढकालले नेपालका रोजगारदाताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति सम्वेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
सो सम्बोधनमा उहाँले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरुलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भारतसँग १० हजार मेगावाट बिद्युत खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह पनि गर्नुभयो ।
त्यसैगरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’ हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उहाँको भनाई थियो ।
अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरु नेपालमा लाभका क्षेत्र रहेको विश्वका लगानीकर्ताहरुलाई बताउनुभयो ।
लगानी सहजीकरणका लागि सरकारले द्धिपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गिकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागीहरुलाई जानकारी गराउनुभयो ।
सो सम्बोधनमा अध्यक्ष ढकालले अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र रोजगारदाताहरुको अन्तराष्ट्रिय सङ्गठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको सो विज्ञप्तिमा जनाइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link