‘राष्ट्रपति पद गैरराजनीतिक होइन, त्यसैले म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु,’ भण्डारीले पत्रकार सम्मेलनमा भनिन्, ‘मैले सुरुमा माले र त्यसपछि बनेको एमालेमा लामो समय बिताएकाले आवश्यक परेमा पुनः एमालेको राजनीतिबाट सक्रिय हुनुपर्ने अवस्था आउन सक्छ ।’ उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन लागेकोमा खुसी व्यक्त गर्दै शुभकामनासमेत दिइन् ।
पहिलोपल्ट २०७२ कात्तिकमा र त्यसपछि २०७४ फागुनमा राष्ट्रपति बनेकी भण्डारी नियमित दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतल निवासबाट बिदा भएकी थिइन् । त्यसको केही समयपछि उनी पुनः सक्रिय राजनीतिमा फर्कने संकेतले एमालेभित्र तरंग पैदा गरेको थियो ।
भण्डारी सक्रिय राजनीतिमा फर्कने सम्भावना रहेको र नरहेको दुई थरी धारणा एमाले नेताहरूले व्यक्त गर्दै आएका थिए । तर त्यो अस्पष्ट स्थितिलाई चिर्दै सोमबार उनले विराटनगरमा पत्रकार सम्मेलनमार्फत दलीय राजनीतिमा आफ्नो पुनरागमन हुने स्पष्ट पारेकी हुन् ।
भण्डारीले २०४० मा महेन्द्र–मोरङ क्याम्पसमा स्ववियु कोषाध्यक्ष भएर सुरु गरेको राजनीतिक यात्रा, उनका स्वर्गीय पति मदन भण्डारीसँगको सम्बन्ध तथा त्यसपछि राष्ट्रपतिको भूमिकाबाट आर्जन गरेको शक्ति र अनुभवलाई सक्रिय राजनीतिमा प्रयोग गर्न चाहेको एमाले नेताहरूको भनाइ छ ।
केही दिन बस्ने गरी आफ्नो राजनीतिक उद्गमथलो मोरङ आएकी भण्डारीले नयाँ र पुराना एमालेजनसँग भेटघाट तीव्र पारेकी छन् । साथ, सहयोग र सुझावका लागि परामर्श बढाएकी छन् । उनको यो सक्रियताले पार्टी नेतृत्वका लागि उनी अघि बढ्ने सम्भावना चुलिएको एमाले नेताहरू बताउँछन् ।
इटहरी र सुनसरीका नयाँ–पुराना एमाले कार्यकर्तासँग पनि भेटघाट गर्ने कार्यक्रम बनाएकी पूर्वराष्ट्रपति भण्डारी माघ १८ मा काठमाडौं फर्कने कार्यतालिका रहेको सुरक्षा निकायको भनाइ छ । एमाले मोरङका पूर्वअध्यक्ष विनोद ढकाललगायत नेताहरू उनको भेटघाटमा सक्रिय भएर लागेका छन् । खासगरी अध्यक्ष ओलीसँग ‘चिढिएका’ र ओलीको ‘विश्वास गुमाएका’ नेताहरूलाई भण्डारीले प्राथमिकता दिएर भेटिरहेको स्रोतको दाबी छ ।
एमाले स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेताले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन सार्वजनिक रूपमै आग्रह गरेका छन् । ‘विगतदेखि नै उहाँ आवश्यकताले राजनीतिमा सक्रिय हुनुभएको हो, पार्टीकै निर्णयबाट राष्ट्रपति बन्नुभएको हो,’ थापाले कान्तिपुरसँग भने, ‘फेरि मुलुक र पार्टीको आवश्यकताले सक्रिय हुनुपर्ने अवस्था आएको छ । एमालेभित्रको ठूलो पंक्तिले उहाँलाई सक्रिय राजनीतिमा आउन आग्रह गरिरहेको छ, सकारात्मक वातावरण पनि बन्दै छ ।’
थापाले पार्टी अध्यक्ष ओलीले नै पूर्वराष्ट्रपतिलाई सक्रिय हुन प्रस्ताव गर्नु उचित हुने बताए । ‘पूर्वराष्ट्रपति भण्डारीको अझै उमेर छ, पार्टी अध्यक्षले नै सक्रिय हुन प्रस्ताव गर्नु उचित हुन्छ,’ उनले भने । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनेबारे औपचारिक छलफल नभएको बताए । ‘सक्रिय राजनीतिमा आउने वा नआउने भन्ने अधिकार पूर्वराष्ट्रपतिसँग छ,’ उनले भने ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवका तत्कालीन राजनीतिक सल्लाहकार एवं राजनीतिक विश्लेषक हरि शर्मा राष्ट्रपति पदको उच्च गरिमा हुने भएकाले पुनः सक्रिय राजनीतिमा आउने/नआउनेबारे आफैंले विवेक पुर्याउनुपर्ने बताउँछन् । ‘राष्ट्रपति मुलुकको उच्च गरिमामय पद हो, त्यो जिम्मेवारी सम्हालिसकेको व्यक्तिले फेरि सक्रिय राजनीति थाल्ने वा नथाल्ने विवेक पुर्याउनुपर्छ,’ उनले भने ।
भण्डारी मंगलबार उद्घाटनलगायतका कार्यक्रममा सहभागी भइन् । इटहरीस्थित जनता माविको नवनिर्मित भवनको उद्घाटन गरिन् । बुधबार धरान इन्जिनियरिङ क्याम्पस र बुढीगंगा गाउँपालिकामा चुडाकवि फाउन्डेसनले आयोजना गर्ने जिल्लास्तरीय वादविवाद प्रतियोगिताको प्रमुख अतिथि बन्दै छिन् । बुधबारै बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको अवलोकन गर्ने कार्यक्रम छ ।
भण्डारी माघ १८ मा विराटनगर महानगर नजिकैको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उनका स्वकीय सचिव राजकुमार राईले पूर्वराष्ट्रपति भण्डारी गैरराजनीतिक कार्यक्रममा सहभागी हुन विराटनगर गएको बताए । ‘विश्वविद्यालयका भेटघाट, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा सहभागी हुन जानुभएको हो,’ उनले भने, ‘त्यहीक्रममा अरू पनि भेटघाट भए होलान् ।’
पछिल्लो समय भण्डारीले आफ्नो सक्रियता निकै बढाएकी छन् । विराटनगरबाट फर्केको केही समयपछि उनी लुम्बिनी जाने कार्यक्रम छ । त्यहाँ उनले औपचारिक र अनौपचारिक भेटघाट गर्ने सम्भावना रहेको सचिवालयले जनाएको छ । यसअघि उनी पुस १८ मा पोखरा विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयको संयुक्त आयोजनामा भएको ‘फेवा डाइलग’ को उद्घाटन गर्न पोखरा गएकी थिइन् । पोखरामा ६ दिन बस्दा उनी एमाले नेता–कार्यकर्तासँगको भेटघाटमा सक्रिय भएकी थिइन् ।
भण्डारी मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणापछि निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् । उनी मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो नेपाली महिला पनि हुन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।