Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

“नेपालमा लगानीको सुनौलो अवसर : ढकाल”

loading views..

पोखरा,फागुन ११ गते। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना रहेको बताउँदै तिनलाई अवसरमा बदल्नुपर्ने आवश्यकता औंल्याएका छन्। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं स्थापना दिवसका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा केही छैन भन्ने गलत धारणा तोड्नुपर्ने बताए।
उनले भने, “नेपालमा प्राकृतिक स्रोतसाधनको ठूलो सम्भावना छ। यिनलाई उपयोग गर्न सके उद्यमशीलता र रोजगारी दुवै बढाउन सकिन्छ।” अध्यक्ष ढकालले आर्थिक विकासका लागि नीतिगत स्थिरता र आन्तरिक लगानी प्रवर्द्धनमा जोड दिए। “नीतिगत स्थिरताले मात्र लगानीको वातावरण बन्छ, जसले उत्पादन र रोजगारी बढाउँछ,” उनले थपे।
कार्यक्रममा उनले महासंघले जिल्ला र नगर उद्योग वाणिज्य संघहरूको मागअनुसार विधान संशोधन गरेको र यसले नेतृत्वका लागि नयाँ अवसर खोलेको उल्लेख गरे। वि.सं. २०१० मा स्थापित बुटवल उद्योग वाणिज्य संघको योगदानको प्रशंसा गर्दै ढकालले यसले पश्चिम नेपालको उद्योग, व्यवसाय, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।
उनले रुपन्देहीलाई कृषि, पर्यटन, उद्योग र व्यापारका हिसाबले नेपालको उर्वर भूमि भएको उल्लेख गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र र अन्य भौतिक पूर्वाधारले यसलाई थप बलियो बनाएको धारणा राखे।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघको स्थापनादेखि नै यस क्षेत्रको आर्थिक, सामाजिक र भौतिक विकासमा सक्रिय भूमिका खेलेको जानकारी दिए। उनले सन् २००९ मा तदर्थ समिति गठन गरी २०१० मा औपचारिक रूपमा संघ स्थापना भएको स्मरण गरे।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्