मोरङ, १३ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागिसकेको अवस्थामा अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे त्यो महँगो पर्ने चेतावनी दिनुभएको छ। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको रतुवामाई नगरपालिकामा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यो कुरा बताउनुभएको हो।
“आज जनताले प्राप्त गरेको अधिकार कसैको दया वा मायाले आएको होइन, यो जनताको लामो संघर्षको फल हो। यसमा कसैले आँखा लगाउने हिम्मत नगरोस्,” उहाँले चेतावनी दिँदै भन्नुभयो। “हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्दै होच्याउनेहरूले अहिले जनताको अधिकारमा माओवादीको एजेन्डा देख्छन् र त्यसलाई कसरी खोस्ने भनेर लागेका छन्। यस्तो प्रवृत्तिविरुद्ध जनताको एकताबद्ध शक्तिको बलमा हामी अघि बढ्छौं,” प्रचण्डले थप्नुभयो।
उहाँले विगतमा अन्य दलहरूसँगको अत्यधिक समन्वयले आफ्नो पार्टी र एजेन्डालाई कमजोर बनाएको स्वीकार गर्नुभयो। “कांग्रेससँग मिल्दा कांग्रेस बलियो भयो, एमालेसँग मिल्दा एमाले बलियो भयो, तर माओवादी सधैं कमजोर हुने अवस्था आयो। अब त्यस्तो हुन दिँदैनौं,” उहाँले स्पष्ट पार्नुभयो। “हामी अब दलाल, बिचौलिया र भ्रष्ट दलहरूसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि बढ्न संकल्प लिएर आएका छौं।”
कोइराला र भण्डारीको स्मरण
कार्यक्रममा प्रचण्डले यो क्षेत्र गिरिजाप्रसाद कोइराला र मदन भण्डारीको निर्वाचन क्षेत्र रहेको स्मरण गर्नुभयो। “शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता कोइराला र जनवादी क्रान्तिको तयारीमा आफूलाई समर्पित गर्ने भण्डारीको सपना साकार पार्नेतिर अहिलेको सरकार लाग्नुपर्ने हो, तर यो निश्चित दलालहरूको चाहनामा चलिरहेको छ,” उहाँले आलोचना गर्नुभयो।
आफ्ना उपलब्धिको चर्चा
प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकालका उपलब्धि स्मरण गराउँदै प्रचण्डले पहिलो पटक ३० हजारसम्मको कृषि ऋण मिनाहा गरेको, दोस्रो पटक राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयन गरेको र नेपाललाई लोडसेडिङमुक्त बनाएर ऊर्जाको नयाँ युग सुरु गरेको बताउनुभयो। “तेस्रो पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा महाअभियान सुरु गरें। सामाजिक न्यायका लागि नागरिकताविहीनलाई नागरिकता दिने कानुन बनाइयो, मिटरब्याजी, सहकारी र लघुवित्त पीडितलाई न्याय दिइयो, अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोडियो र देशलाई आर्थिक संकटबाट मुक्त गर्ने थालनी गरियो,” उहाँले भन्नुभयो।
उहाँले मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र उत्तर-दक्षिण कोरिडोर जस्ता आयोजना पूरा हुने चरणमा पुग्नु आफ्नो पहलको परिणाम भएकोमा खुसी व्यक्त गर्नुभयो।
सरकारको रबैयाको बिरोध
प्रचण्डले अहिलेको सरकारको गठन प्रक्रियालाई ‘अलोकतान्त्रिक, अप्राकृतिक र अपारदर्शी’ भन्दै कडा आलोचना गर्नुभयो। “मेरो सुशासन, सामाजिक न्याय र समृद्धिको पहलबाट डराएर भ्रष्ट, दलाल र बिचौलियाहरूले कांग्रेस र एमालेका नेतालाई आफ्नै घरमा बोलाएर यो सरकार बनाए। यो सरकार जुन उद्देश्यले बनेको हो, अहिले त्यहीअनुसार भ्रष्टाचारीहरूको संरक्षणमा लागिरहेको छ,” उहाँले आरोप लगाउनुभयो।
जनताको शक्तिमा विश्वास
प्रचण्डले जनताको शक्तिमा आफ्नो अटल विश्वास रहेको बताउँदै कसैले जनताको अधिकार खोस्ने प्रयास गरे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दोहोर्याउनुभयो। “हिजो हामीलाई कसैको दयाले ठूलो बनाइएको होइन, जनताको बलले हामी यहाँ छौं। अब पनि जनताको एकताबद्ध शक्तिकै आधारमा अघि बढ्छौं,” उहाँले जोड दिनुभयो।
यो जनसभाले माओवादीको तराई मधेस जागरण अभियानलाई थप बलियो बनाएको स्थानीय नेताहरूले बताएका छन्।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.