Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ: प्रचण्ड

loading views..
Nepal Telcome

धनपालथान (मोरङ), १३ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी’ अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताउनुभएको छ। मोरङको धनपालथान गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उहाँले यो अभियानले दक्षिणी सीमाना क्षेत्रमा बसोबास गर्ने जनतामाथिको विभेदविरुद्ध संघर्षको झण्डा उठाउन र उनीहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’को पहिलो चरणअन्तर्गत हुलाकी मार्ग केन्द्रित यो कार्यक्रममा प्रचण्डले दक्षिणी भेगका जनताले डुबान, कृषि मलको अभावजस्ता समस्या भोगिरहेको उल्लेख गर्नुभयो। साथै, आदिवासी समुदायको पहिचानको मुद्दालाई पनि उत्तिकै महत्त्वपूर्ण भएको बताउनुभयो। उहाँले महान् जनयुद्ध उत्पीडित समुदायको मुक्तिका लागि लडिएको स्मरण गर्दै नयाँ संविधानले धेरै समस्यालाई नीतिगत रूपमा सम्बोधन गरेको भए पनि व्यवहारिक कार्यान्वयन आवश्यक रहेको र परेमा संविधान संशोधनमार्फत अधिकार थपिने बताउनुभयो।
अध्यक्ष प्रचण्डले सत्तारुढ दलहरू जनताको अधिकार कटौती गर्ने षड्यन्त्रमा लागेको आरोप लगाउँदै यस्ता षड्यन्त्रविरुद्ध जनतालाई सचेत बनाउन र आवश्यक परे संघर्षमा उत्रन आह्वान गर्नुभयो। यो अभियान उत्पीडित वर्गको पक्षमा सचेतना फैलाउने माध्यम पनि भएको उहाँको भनाइ थियो।
उहाँले हुलाकी मार्ग केन्द्रित अभियानपछि वैशाखदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व-पश्चिम जागरण अभियान सुरु हुने जानकारी दिँदै दुवै अभियानले जनतालाई थप अजयशक्ति प्रदान गर्ने र अधिकारविरुद्धका षड्यन्त्रलाई परास्त गर्ने दाबी गर्नुभयो।
सभामा कांग्रेस, एमाले, जसपालगायतका दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ठूलो संख्यामा स्थानीय नेता-कार्यकर्तालाई प्रचण्डले स्वागत गर्नुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link