विराटनगर, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले दायाँबाट बायाँतर्फ नीतिगत सिफ्ट गरेको घोषणा गर्नुभएको छ। विराटनगरमा आयोजित अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीले अब उत्पीडित समुदायको हकहित र समाजवादको अभ्यासमा जोड दिने बताउनुभयो।
अध्यक्ष प्रचण्डले हालै सम्पन्न केन्द्रीय समिति बैठकले यो नीतिगत परिवर्तनको निर्णय गरेको उल्लेख गर्दै स्थानीय तहबाटै समाजवादको अभ्यास थाल्ने योजना बनाइएको जानकारी दिनुभयो। “पार्टी आफ्नै वर्ग र समुदायतिर फर्किएको छ। हामी समुदायसँगै बसेर संघर्ष गर्छौं र समाजवादको आधार तयार पार्छौं,” उहाँले भन्नुभयो।
यसै क्रममा पार्टीले ‘जनतासँग माओवादी तराई मधेस जागरण’ अभियान सुरु गरेको उहाँले बताउनुभयो। यो अभियानमार्फत आर्थिक समृद्धिका सम्भावना खोज्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद तथा बेपत्ता परिवारसँग संवाद गर्ने र जनताको घरमा बसेर उनीहरूका समस्या बुझ्ने काम भइरहेको प्रचण्डले जानकारी दिनुभयो। “हिजो सामन्ती राज्यले विभेदमा पारेका समुदायका लागि हामीले जनयुद्ध लड्यौं, संविधानमा अधिकार लेख्यौं, तर कार्यान्वयनमा समस्या छ। त्यसलाई सम्बोधन गर्न हुलाकी मार्ग केन्द्रित अभियान थालेका छौं,” उहाँले स्पष्ट पार्नुभयो।
आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन हुने उल्लेख गर्दै प्रचण्डले यो अभियान देशको होचो ठाउँबाट सुरु भई उचो ठाउँमा समापन हुने बताउनुभयो। “यो अभियानले स्वरुप र सन्देश दुवै हिसाबले मौलिक हुनेछ। यसले साँचो अर्थमा राष्ट्रिय एकता कायम गर्नेछ,” उहाँले थप्नुभयो।
कार्यक्रममा उहाँले भर्खरै सम्पन्न अखिल क्रान्तिकारीको चुनावले पार्टीभित्र लोकतान्त्रिक अभ्यास स्थापित गरेको बताउनुभयो। “यो अभ्यासले अखिल क्रान्तिकारीलाई अन्य विद्यार्थी संगठनभन्दा माथि पुर्याउनेछ,” उहाँले दाबी गर्नुभयो। देशभर माओवादीको पक्षमा माहोल बनिरहेको र पछिल्लो स्थानीय तह उपनिर्वाचनले प्रदेश नम्बर १ मा पार्टीलाई पहिलो स्थानमा पुर्याएको उल्लेख गर्दै प्रचण्डले आगामी स्ववियु निर्वाचनमा पनि अखिल क्रान्तिकारीलाई पहिलो संगठन बनाउन अपिल गर्नुभयो।
