राजविराज (सप्तरी), १६ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मेवारी माओवादीले लिने बताउनुभएको छ। ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’अन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले माओवादी नै सक्कली मधेसवादी दल भएको दाबी गर्नुभयो।
प्रचण्डले मधेसी जनता ‘नक्कली मधेसवादी’ दलहरूको भुलभुलैयामा परेको उल्लेख गर्दै ती दलबाट मुक्ति सम्भव नभएको प्रमाणित भइसकेको बताउनुभयो। “अब मधेसी जनताले वास्तविक मधेसवादी शक्ति माओवादीसँग जोडिनुपर्ने बेला आएको छ,” उहाँले भन्नुभयो। आफूलाई मधेसवादी भन्ने दलहरू प्रतिक्रियावादी दिशातर्फ उन्मुख भएको भन्दै उहाँले जनतालाई सावधान रहन आग्रह गर्नुभयो।
मधेसको मुक्तिबिना देशको मुक्ति असम्भव रहेको मान्यताका साथ माओवादीले जनयुद्ध सुरु गरेको स्मरण गराउँदै प्रचण्डले मधेस मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय सहिदको सपना पूरा गर्ने जिम्मेवारी पनि माओवादीले लिने प्रतिबद्धता जनाउनुभयो। “संघीयता र समावेशिताको सबैभन्दा बढी आवश्यकता मधेसी समुदायलाई छ, र यसको नेतृत्वकर्ता माओवादी नै हो,” उहाँले थप्नुभयो। मधेस प्रदेशको नामकरण पहिचानमा आधारित भएकोमा गर्व व्यक्त गर्दै उनले माओवादी र मधेसी जनताको एकता नभए उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत गराउनुभयो।
हुलाकी मार्ग र मधेसको विकासमा जोड
प्रचण्डले माओवादीले पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरेको उल्लेख गर्दै यसले मधेसका जनताको आर्थिक र सामाजिक जीवनमा परिवर्तन ल्याउने उद्देश्य राखेको बताउनुभयो। नेपालको सबैभन्दा पुरानो सडक मानिने हुलाकी मार्ग राज्यबाट उपेक्षित रहेको अवस्थामा आफू प्रधानमन्त्री हुँदा भारतका समकक्षी नरेन्द्र मोदीसँगको छलफलबाट निर्माण सुरु भएको स्मरण गर्नुभयो। “मैले सिराहामा आएर यसको उद्घाटन गरेको थिएँ,” उहाँले भन्नुभयो।
मधेसमा सिँचाइ, मल, बीउ, कृषि उत्पादन वृद्धि, बजारीकरण, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा सुधार ल्याउन माओवादी पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
मिटरब्याज पीडितको न्याय र सुशासनको अभियान
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको सरकारले मिटरब्याज पीडितलाई न्याय दिन थालेको अभियान हाल रोकिएको बताउँदै यसलाई पुनः आन्दोलनमार्फत अघि बढाउने जानकारी दिनुभयो। “मधेस प्रदेशमा प्रदेशस्तरीय र अन्य जिल्लामा मिटरब्याज पीडित संघर्ष समिति बनाएर आन्दोलन चल्छ,” उहाँले भन्नुभयो। सुशासनको अभियान भ्रष्टाचारविरुद्ध मात्र नभई दलाल पुँजीवादविरुद्धको लडाइँ भएको उनको भनाइ थियो।
माओवादीप्रति समर्थन र सुझाव
नेसपा अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्धकै कारण गणतन्त्र सम्भव भएको उल्लेख गर्दै प्रचण्डलाई दोस्रो गणतन्त्रवादी नेताको संज्ञा दिनुभयो। उहाँले हुलाकी मार्ग केन्द्रित मधेस जागरण अभियानलाई आफ्नो पार्टीको समर्थन रहेको बताउनुभयो।
पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थापक दलका नाताले माओवादीले व्यवस्थाको रक्षा र कार्यान्वयनमा नेतृत्व लिनुपर्ने बताउनुभयो। सहभागीहरूले मधेसको शैक्षिक अवस्था कमजोर भएको, स्वास्थ्य सेवा गुणस्तरीय नभएको, युवा विदेश पलायन भएको जस्ता समस्या उठाउँदै यी क्षेत्रमा ध्यान दिन र मधेसी जनताको अवस्था बदल्न सबै दल एकजुट हुनुपर्ने सुझाव दिए।
उनीहरूले नीति, कानुन र बजेट निर्माणमा जनसहभागिता सुनिश्चित गर्न र महिला, दलित, मधेसी, मुस्लिम, जनजातिजस्ता समुदायको मुक्तिका लागि माओवादीले कार्यान्वयनमा जोड दिनुपर्ने बताए। हुलाकी मार्गको शीघ्र निर्माणका लागि पनि ध्यानाकर्षण गराइएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.