Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माओवादी केन्द्रको माग, आन्दोलनरत शिक्षकहरूप्रति ऐक्यवद्धता

loading views..
Nepal Telcome

काठमाडौं, चैत २५ गते। लामो समयदेखि विद्यालय शिक्षा ऐन जारी गर्न र विभिन्न माग राखेर आन्दोलनरत शिक्षकहरूप्रति नेकपा (माओवादी केन्द्र) ले ऐक्यवद्धता जनाउँदै सरकारले उक्त ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको छ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा शिक्षा क्षेत्रको गुणात्मक सुधार आजको आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि विद्यालयस्तरमा कार्यरत शिक्षकहरूको पेशागत सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, “संविधानले शिक्षालाई मौलिक हकको रूपमा सुनिश्चित गरे पनि आवश्यक कानुनी र नीतिगत संरचना निर्माण नहुँदासम्म संघीयताको मर्मअनुरूप शैक्षिक पुनर्संरचना सम्भव छैन।”

माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकारले जटिल परिस्थितिबीच विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै त्यस क्रममा नेपाल शिक्षक महासंघसँग भएका ५ बुँदे र ६ बुँदे सहमतिको पनि स्मरण गराएको छ।

सरकारले शिक्षकहरूको जायज मागलाई बेवास्ता गर्दै शिक्षा विधेयक पारित नगरेको र उल्टै अन्य गम्भीर प्रकृतिका ऐनहरू अध्यादेशमार्फत जारी गरेकोमा आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ, “शिक्षकहरूको आन्दोलन चर्किएपछि मात्रै बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क हास्यास्पद छ।”

पार्टीले तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न विशेष अधिवेशन वा अन्य उपायबाट अघि बढ्न सरकारलाई अपिल गर्दै आम जनसमुदायलाई पनि आन्दोलनरत शिक्षकहरूप्रति ऐक्यवद्ध हुन आह्वान गरेको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link