Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्ष ढकालद्वारा अर्थतन्त्र सुधारमा जोड

loading views..
Nepal Telcome

काठमाडौं, चैत्र २८ गते। नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन सत्रमा महासंघका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले आफ्नो मन्तव्य प्रस्तुत गर्दै मुलुकको वर्तमान आर्थिक अवस्था र त्यसको सुधारका लागि निजी क्षेत्रको भूमिकामा जोड दिनुभयो।
अध्यक्ष ढकालले आफ्नो दुई वर्षे कार्यकालको स्मरण गर्दै विभिन्न चुनौतीका बाबजुद अवसरको खोजी गरिएको र सुधारको प्रयास जारी रहेको बताउनुभयो। दुई वर्षअघि नेपाल श्रीलंका जस्तै आर्थिक संकटमा पर्न सक्ने चर्चा चलेको स्मरण गर्दै उहाँले नेपालको आर्थिक आधार बलियो रहेको भए पनि अनावश्यक सतर्कताका कारण बजार चलायमान हुन नसकेको धारणा राख्नुभयो।
पछिल्लो त्रैमासमा ५ प्रतिशतको आर्थिक वृद्धि देखिए पनि उद्यमी व्यवसायीको मनोबल अझै बढ्न नसकेको महासंघले गरेको सर्वेक्षणले देखाएको जानकारी दिँदै अध्यक्ष ढकालले निराशालाई आशामा बदल्न देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। सरकारको सीमितताका बाबजुद निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी सिर्जना गरेको उल्लेख गर्दै उहाँले श्रम बजारमा वार्षिक प्रवेश गर्ने पाँच लाख युवाका लागि पर्याप्त रोजगारी सिर्जना गर्न निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष ढकालले नेपालको आर्थिक विकासको तुलना दक्षिण कोरिया र बंगलादेश जस्ता मुलुकसँग गर्दै नेपालले अपेक्षित प्रगति गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो। भूमण्डलीकरणले अवसर सिर्जना गरे पनि नेपालले आफ्नो अर्थतन्त्रलाई ठूलो बनाउन नसकेको उहाँको भनाइ थियो।
आफ्नो मन्तव्यको क्रममा अध्यक्ष ढकालले विदेशी लगानी आकर्षण, आन्तरिक पुँजी परिचालन र सुशासन अभिवृद्धिमा जोड दिनुभयो। विदेशी लगानीलाई पाँच गुणा बढाउन सकिने र त्यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने उहाँको सुझाव थियो। आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिँदै उहाँले यसले साना पुँजीलाई एकत्रित गरी ठूला आयोजनामा लगानी गर्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष ढकालले राजनीतिक स्थायित्व र सरकारको सकारात्मक सन्देशले आर्थिक वृद्धिमा टेवा पुग्ने बताउँदै आर्थिक विषयमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्नेमा जोड दिनुभयो। निजी क्षेत्रले वार्षिक १६ खर्ब रुपैयाँको पूँजी निर्माण गर्न सक्ने क्षमता राख्ने र दोहोरो अंकको आर्थिक वृद्धि सम्भव रहेको उहाँको भनाइ थियो।
सुशासनलाई मुलुकको ठूलो समस्याको रूपमा औंल्याउँदै अध्यक्ष ढकालले काम गर्न चाहने युवालाई सहज सेवा, लगानीकर्ताको मनोबल वृद्धि, सुरक्षाको प्रत्याभूति र व्यवसायीलाई सम्मानजनक व्यवहार गर्न सरकारसँग आग्रह गर्नुभयो। प्रविधिको उच्चतम प्रयोग र सदाचार नीतिबाट सुशासन कायम गर्न सकिने उहाँको विश्वास थियो।
अन्त्यमा, अध्यक्ष ढकालले निजी क्षेत्र चलायमान हुन नसक्दा सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले निजी क्षेत्रको सम्मान, समृद्धिको आधार भन्ने नारालाई सबैले मनन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, मुख्य सचिव, सचिवहरू लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। अध्यक्ष ढकालले उपस्थित सबैलाई स्वागत गर्दै नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्नुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link